संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि राष्ट्रिय एकता जरुरी : कृष्णप्रसाद सिटौला

काठमाडौँ । नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले संविधान र संघीय लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा शुक्रवार काठमाडौँमा आयोजित ‘मौजुवा संविधान र यसका चुनौती’ विषयक विषयक अन्तर्संवाद कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

उनले जेन–आन्दोलनपश्चात मुलुकमा संविधान विपरीत गतिविधि भइरहेको भन्दै लोकतान्त्रिक मूल्य र संविधानको रक्षा गर्न दलहरूबीच आपसी सहकार्यको आवश्यक भएको बताए । लामो सङ्घर्षपछि प्राप्त संविधानलाई जोगाउन राष्ट्रिय एकतालाई मजबुत बनाउँदै अगाडि बढ्न जरुरी रहेको उनको भनाइ छ । उनले राष्ट्रिय एकता नै जनता, लोकतन्त्र, संवैधानिक व्यवस्था र संविधानको सुरक्षा कवच भएको उल्लेख गर्दै जनताका मुद्दा र मागलाई सम्बोधन गर्नेगरी दलहरू परिमार्जित हुन जरुरी रहेको बताए ।

सिटौलाले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका तथा औद्योगिक–व्यापारिक क्षेत्रहरूमा आक्रमण हुँदा मुलुकको अर्थतन्त्र नै संकटमा परेको बताए । भ्रष्टाचार, जनआक्रोश र सामाजिक असन्तोषलाई सम्बोधन गर्न दलहरू गम्भीर हुनुपर्ने धारणा राखे ।

उनले भने ‘संविधान विपरीत कार्य भएको छ । नेपाली काँग्रेस एकताबद्ध रहेर अन्य दलहरूसँग पनि छलफल गर्नुपर्छ भन्ने आजै बसेको बैठक भएको छ । विगत लामो समयको सङ्घर्षबाट प्राप्त उपलब्धि र जनताको सर्वोच्चताका रूपमा रहेको संविधान जोगाउन आवश्यक छ । राष्ट्रिय एकतालाई जति बलियो बनाउन सकियो त्यो नै अहिले जनता, लोकतन्त्र, संवैधानिक व्यवस्था र संविधानको सुरक्षा कवच हुन्छ । हामी सबैले एकताबद्ध भएर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको मनोबल उच्च बनाउनुपर्ने भएको छ । हाम्रो पार्टीको भित्र अनेक मत होला । तर अहिले मत मतान्तर र होडबाजी गर्ने बेला नभई एकताबद्ध भएर अगाडि बढ्ने हो । यो इतिहास लामो भएको छैन । हामीले यो इतिहासलाई सम्झिएर हाम्रा गतिविधि अगाडि हुनुपर्छ । अर्को कुरा, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, औद्योगिक तथा व्यापारिक केन्द्रमा आक्रमण भएको छ । यो देशको अर्थतन्त्रमाथि आक्रमण भएको छ । यसको लुटपाट र तोडफोड आजसम्म भएको थिएन । यो संकटबाट देशलाई मुक्त गर्न सबैलाई सम्झाएर अगाडि बढ्नुपर्छ ।’

उनले जेन–जी आन्दोलनका क्रममा सरकारद्वारा गरिएको दमनको समेत विरोध गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 6 =