उद्यमी व्यवसायीको मनोबल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्रीलाई चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष उद्यमी व्यवसायीको मनोबल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष आग्रह गरेको छ ।

अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी टोलीले गृहमन्त्री अर्याल समक्ष सिंहदरबारमा आज भेटवार्ता गरेको हो ।

गृहमन्त्री अर्याललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिने क्रममा चेम्बरले निजी लगानी सुरक्षित एवं लगानीकर्तामा विश्वास जगाउन राज्यले पहल गर्नुपर्ने आवश्यकतामा जोड दिएको हो ।
आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमा आक्रमण हुनु दुःखद भएको र यस्ता घटनाले व्यावसायिक वातावरणमा नकारात्मक असर पर्न गएको चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए ।

उनले भने ‘मुलुकको समग्र आर्थिक विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको ठुलो योगदान रहेको छ, मुलुकमा निजी क्षेत्रको लगानी ८१ प्रतिशत भन्दा बढी रहेको छ, विकसित पछिल्लो घटनाक्रमले व्यावसायिक सुरक्षामा गम्भीर प्रश्न उब्जाएको छ, ।’

निजी क्षेत्रको सम्पत्ति सुरक्षण र व्यावसायिक स्थिरताका लागि शान्तिपूर्ण वातावरण अपरिहार्य रहेको अध्यक्ष अग्रवालले बताए ।

वर्तमान अवस्थामा सरोकारवाला गृहमन्त्रालय, अर्थमन्त्रालय, नेपाल राष्ट्रबैंक तथा सुरक्षा निकाय र निजी क्षेत्रबीच छिटो छरितो सूचना आदान प्रदानका लागि विशेष संयन्त्र बनाइनुपर्ने चेम्बरले उल्लेख गरेको छ । प्राकृतिक विपत्ति वा अराजकताको समयमा आर्थिक पूर्वाधार सुरक्षित राख्न विशेष सुरक्षा योजना बनाउन समेत चेम्बरले गृहमन्त्री अर्याललाई सुझाव दिएको छ ।

चेम्बरद्वारा गृहमन्त्री अर्याललाई दिइएको सुझावमा भनिएको छ, ‘आर्थिक क्षेत्रको सुरक्षा, डिजिटल सुरक्षा तथा संकट व्यवस्थापन सम्बन्धी तालिम सुरक्षा निकायलाई उपलब्ध गराउन आवश्यक देखिएको छ, ।’
यस्तै आर्थिक सुरक्षासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि चेम्बरले सुझाव दिएको छ । चेम्बरले आन्दोलनका क्रममा भएको सरकारी सम्पत्तिको पुननिर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत गृहमन्त्री अर्याल समक्ष व्यक्त गरेको छ ।

यसैबीच नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले आन्दोलनका क्रममा क्षतिग्रस्त नक्सालको भाटभटेनी सुपरमार्केटमा स्थलगत अवलोकन गरेको छ । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङलाई भेटी चेम्बर पदाधिकारी टोलीले भाटभटेनीमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको क्षतिको विवरण संकलनका लागि चेम्बरले उद्यमी, व्यवसायीहरूमा आन्तरिक परिपत्र जारी गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =