एमाले नेताहरूले गरे सिंहदरबारलगायत क्षतिग्रस्त संरचनाहरूको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का नेताहरूले जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरिएको मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलगायत क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको अवलोकन गरेका छन् ।

मंगलवार पार्टीका निवर्तमान सांसदहरूले देशको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार, राष्ट्रपति भवन, संसद भवन, सर्वोच्च अदालत लगायतका क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको अवलोकन गरेको सचिव गोकर्ण विष्टले बताए ।

उनले अधिकांश सार्वजनिक संरचनाहरू पूर्णरुपमा ध्वस्त अत्यन्तै दुःखद भएको बताए । सिंहदरबारको भवनसहित महत्त्वपूर्ण ऐतिहासिक दस्ताबेज समेत ध्वस्त भएको हुनसक्ने उनको अनुमान छ । उनले सार्वजनिक संरचनामा आगजनी र तोडफोड गर्ने जेनजी पुस्ताको चाहाना हुन नसक्ने भन्दै आन्दोलनमा घुसपैठ भएको आशंका गरे ।

उनले घटनाको सत्यतथ्य छानबिन गरी तोडफोड र आगजनीमा संलग्नहरूलाई आवश्यक कारबाही गर्न समेत माग गरे ।

उनले भने ‘प्रतिनिधि सभाका निवर्तमान प्रतिनिधिहरू र नेताहरूले सिंहदरबारको मुख्य कार्यालयसहित क्षतिग्रस्त ठाउँहरूको अवलोकन गर्‍यौँ । अधिकांश ठाउँमा संरचनाहरू ध्वस्त भएका छन् । सिंहदरबारमा रहेका ऐतिहासिक दस्ताबेजहरू समेत ध्वस्त भएको हामी अनुमान गर्न सक्छौँ । त्यसबाहेक, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, संसद भवन र देशका महत्त्वपूर्ण सार्वजनिक संरचना, निजी सम्पत्ति र व्यवसायीक संरचनाहरू ध्वस्त भएका छन् । यो अवस्था निकै दुःखदायी छ । यो भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्ने त्यो जेनजी पुस्ताको चाहाना थिएन होला । यसमा को को शक्तिहरू घुसे र के कारणले यस्ता घटनाहरू घटे ? भन्ने विषयमा छानबिन गरेर दोषीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । युवा पुस्ताको मागका आधारमा हामी परिमार्जित भएर जाने कुरामा पनि हामीले गम्भीरताका साथ ध्यान दिनुपर्छ । आन्दोलनको क्रममा ज्यान गुमाउने युवाहरूप्रति पनि म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु ।’

सचिव विष्टले आन्दोलनको क्रममा ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जली व्यक्त समेत गरे । उनले युवा पुस्ताको चाहनाअनुसार राजनीतिक दलहरू परिमार्जन हुने कुरालाई सबैले गम्भीर रूपमा लिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 18 =