‘हिल्टन’ सँगै हाम्रा सारा मिहिनेत खरानी भए, हामी विक्षिप्त भयौँ : शंकर ग्रुप

काठमाडौँ । शंकर ग्रुपले जेनजी आन्दोलनका क्रममा ‘हिल्टन’ होटल जलेसँगै कम्पनीको सारा मिहिनेत र सपनाहरू पनि खरानी भएको बताएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै कम्पनीले यस्तो जानकारी दिएको हो ।

विज्ञप्तिमा लेखिएको छ ‘यस आन्दोलनका क्रममा थुप्रै व्यावसायिक संस्थाहरूमा समेत आगजनी, तोडफोड तथा लुटपाट भएको छ । यसैको चपेटमा हामीद्वारा प्रवर्धित भर्खरै सञ्चालनमा आएको होटल हिल्टन समेत परेको छ ।’

ग्रुपले ‘नेपालमा यति ठुलो जोखिम मोलेर लगानी गर्नु के हाम्रो गल्ती थियो ?’ भनेर प्रश्न गरेका छन् । साथै कम्पनीको सारा मिहिनेत र सपनाहरूसँगै यस विशाल धरोहर खरानी भएबाट विक्षिप्त भएका उल्लेख गरिएको छ ।

विज्ञप्तिमा जेनजेडका अगुवा सुदन गुरुङ र उनको समूहको राजनीति र संस्थागत गतिविधिसँग कम्पनीको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।

‘कोभिड महामारीका समयमा ‘हामी नेपाल’ संस्था र त्यसका नेतृत्वकर्ता सुदन गुरुङसँग चिनजान भएको थियो । त्यही क्रममा हामीले कोरोना प्रभावित नेपालीहरूलाई सहयोग गर्न उहाँहरूलाई परिचालन पार्टनर छनौट गरेका थियौँ । त्यसयता उक्त संस्थासँग हाम्रो कुनै सहकार्य नभएको समेत स्पष्ट पार्न चाहन्छौँ ।’

कम्पनीले यस संकटको घडीमा फेरि आफूलाई सम्हालेर व्यवसायलाई नयाँ शिराबाट सुरु गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =