आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

काठमाडौँ । सोमवार (आज) बाट काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । अघिल्ला वर्षहरूमा तामझामका साथ यस्ता पसलहरूको शुभारम्भ गरिने गरिए पनि यसपटक औपचारिक कार्यक्रम बिनै सुरु गरिएको हो । त्यस्ता पसलहरूमा नागरिकले ५–१० रुपैयाँ छुट पाउन सक्नेछन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रादेशिक प्रमुख धर्मकुमारी राजवंशीले खाद्य व्यवस्था कार्यालयबाट चामल, मसलाजन्य सामाग्रीहरू, केराउ, दाल, तेलहरू बिक्रीमा राखिएको बताउनुभयो । उहाँकाअनुसार चामल, गहुँ दाल, केराउमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइएको छ भने चिनीमा ५ रुपैयाँले छुट दिइएको छ । यस्तै, चिउरा, आटा, पिठो, मैदा, चियापत्ती जिरा, धनियाँ मसलाहरूमा प्रतिकेजी ७ रुपैयाँका दरले छुट दिइएको छ भने तेलमा प्रतिलिटर ७ रुपैयाँका दरले छुट दिएको छ । खाद्यले सिमी, फापर, मार्सी, बासमतीमा प्रतिकेजी १० रुपैयाँ छुट दिएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रादेशिक प्रमुख राजवंशीले भने ‘खाद्य व्यवस्था कार्यालयबाट विभिन्न ५१ आइटमहरू हामीले राखेका छौँ । खाद्यवस्तुहरूमा चामल, मसलाजन्य सामाग्रीहरू पनि हामीले राखेका छौँ । चिउरा आटा पिठोहरू पनि हामीले छुट दिएका छौँ । चामल गहुँ दाल, केराउमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइएको छ । चिनीमा ५ रुपैयाँले छुट दिएका छौँ । चिउरा, आटा, पिठो, मैदा, चियापत्ती जिरा, धनियाँ मसलाहरूमा प्रतिकेजी ७ रुपैयाँका दरले छुट दिएका छौँ । तेलमा प्रतिलिटर ७ रुपैयाँका दरले छूट दिएका छौँ । त्यसैगरी सिमी, फापर, मार्सी, बासमतीमा प्रतिकेजी १० रुपैयाँ छुट दिएका छौँ । हाम्रो विक्रीकक्ष रामशाहापथ, नख्खु, दक्षिणकालीबाट सुपथ मूल्य पसल सञ्चालन गर्नेछौं । असोज पहिलो सातादेखि गोदावरी र चाँगुनारायणमा समेत सुपथ मुल्यपसल खोल्नेछौँ ।’
उनले प्रतिकेजी १० रुपैयाँ छुट दिने निर्णय भएपनि यसपटक खसी बोका आउने/नआउने निश्चित नरहेको जानकारी दिए । आन्दोलनको प्रभावका कारण खसी बोका ल्याउन नसकिएको उनको भनाइ छ । यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले समेत सुपथ मूल्यका पसलहरू सञ्चालनमा ल्याएको छ । साल्टले सहुलियत दिएर आयो नुन २४ रुपैयाँमा विक्री गरेको छ भने २ केजीको चिनीलाई १९० रुपैयाँमा सहुलियतपसलहरुमार्फत विक्री गरेको छ । भान्साघर चामल, एसटीसी सोना मनसुनी चामललगायतमा समेत छुट दिएको साल्ट टेडिङ कर्पोरेसनले जनाएको छ ।
साल्ट ट्रेडिङका अनुसार यस वर्ष देशभर तीन दर्जन स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । काठमाडौँ उपत्यकामा भने कालीमाटी, सतुङ्गल, जावलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुरको सल्लाघारी, कौशलटार, काँडाघारी, इमाडोल र महाराजगञ्जमा पसल खुलाइएका छन् ।
उपत्यकाबाहिर झापाको बिर्तामोड, मोरङको विराटनगर, सप्तरीको राजविराज, सिरहाको लहान, धनुषाको जनकपुर र पर्साको वीरगञ्जमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ ।








