एनसेलको प्रतिबद्धता: ‘हामी फेरि उठ्नेछौं, तपाईंहरू सँगै’

काठमाडौं । जेनजी आन्दोलनमा मुलुकभर भएको तोडफोडबाट गम्भीर क्षति बेहोरेको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले फेरि उठ्ने अठोट सार्वजनिक गरेको छ ।
कम्पनीले ‘हामी फेरि उठ्नेछौं, तपाईंहरू सँगै, एनसेल नेपालकै लागि’ भन्ने प्रतिबद्धता जनाउँदै, संकटको बेलामा पनि सेवा नरोकेको बताएको छ ।
कम्पनीले आइतबार विज्ञप्ति जारी गर्दै काठमाडौंस्थित एनसेल आइकमसहित महेन्द्रनगर, धनगढी र पोखराका क्षेत्रीय कार्यालयहरूमा तोडफोडबाट ठूलो भौतिक क्षति पुगेको पुष्टि गरेको छ । भौतिक संरचनामा क्षति पुग्नुका साथै कर्मचारीहरूको सुरक्षामा समेत जोखिम उत्पन्न भएको कम्पनीको भनाइ छ ।
‘यी चुनौतीहरूको बाबजुद पनि एनसेल सधैंझैं देश र जनमानसलाई दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्न प्रतिवद्ध रह्यो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । आन्दोलनको समय अवधिभर सेवा निरन्तरता सुनिश्चित गर्न एनसेलले तीन दिनसम्म निःशुल्क स्थानीय भ्वाइस कल, एसएमएस तथा इन्टरनेट सेवा उपलब्ध गराएको जनाएको छ ।
एनसेलले गत २० वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट नेपालमा आर्थिक वृद्धिलाई गति दिँदै डिजिटल नेपालको यात्रामा योगदान पु–याउँदै आएको दाबी गरेको छ । कम्पनीले आन्दोलनपछि मुलुक अन्तरिम सरकारतर्फ अघि बढिरहेको अवस्थामा नवगठित सरकार र जनआन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गरेको छ ।
‘नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई हार्दिक बधाई व्यक्त गर्दछौं,’ एनसेलको विज्ञप्तिमा भनिएको छ, ‘देशका युवाहरूको अगुवाइमा आएको परिवर्तनले शान्ति, समृद्धि र एकताको नयाँ युगको सुरुवात होस् भन्ने हामी सबैको सामूहिक आशा छ ।’
कम्पनीले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
एनसेलले विज्ञप्तिको अन्त्यमा भनेको छ, ‘आज हामी अझै दृढ संकल्प र सहनशीलताका साथ देश र जनताको सेवा गर्ने प्रतिबद्धता पुनः दोहोर्याउँछौं ।’








