संवैधानिक मार्ग भन्दा बाहिरबाट कुनै कदम चालिए ठुलो दुर्भाग्य हुनेछ : एमाले

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति भएपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले त्यसबारे कडा चेतावनी दिएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बर्तौलाले संविधान बाहिर गएर प्रधानमन्त्री नियुक्त गर्ने कुनै पनि कदम देशको लागि ‘ठूलो दुर्भाग्य’ हुने बताएका छन् । उनले संविधानको धारा ७६ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष तत्काल प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

‘संवैधानिक मार्गभन्दा बाहिरबाट कुनै कदम चालिएमा देशका लागि त्यो ठूलो दुर्भाग्य हुनेछ भन्ने कुरा सम्माननीय राष्ट्रपतिज्युलाई स्मरण गराउन चाहन्छु,’ बर्तौलाले लेखेका छन्, ‘अहिलेको परिस्थितिमा संवैधानिक मार्गबाट प्रधानमन्त्री बन्ने व्यक्ति वा दल जोसुकै भए पनि त्यो आपत्ति वा असहमतिको विषय होइन ।’

तर उनले निर्वाचित संसदलाई बेवास्ता गरेर संविधान, व्यवस्था, लोकतन्त्र र राष्ट्रविरोधी शक्ति तथा विदेशीको इशारामा चल्ने ‘कठपुतलीलाई’ देशको जिम्मा दिनु नहुने जिकिर गरेका छन् ।

भदौ २३ गते आन्दोलनमा भएको प्रहरी दमन र २४ गतेको आगजनी तथा तोडफोडका घटनाको उच्चस्तरीय न्यायिक छानबिन हुनुपर्ने उनको माग छ । उनले दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्नुपर्ने बताउँदै उक्त कार्यका लागि एमालेको पूर्ण साथ र समर्थन रहने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seven =