प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग
प्रतिनिधि सभा बैठक प्रभावकारी बनाउन सभामुख अर्यालले दलहरूसँग गरे छलफल

काठमाडौं । असार १४ गतेदेखि सुरु हुने प्रतिनिधि सभाको बैठकलाई मर्यादित र प्रभावकारी बनाउने विषयमा सभामुख डोलप्रसाद अर्यालले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।
१५ दिनको स्थगनपछि बस्न लागेको बैठकको कार्यसूची तथा सदनमा देखिएका अवरोध हटाउने विषयमा केन्द्रित रहेर मंगलबार सिंहदरबारमा छलफल भएको हो ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसद्को आगामी बैठकलाई व्यवस्थित बनाउन सभामुखले छलफल आह्वान गरेको जानकारी दिए ।

उनका अनुसार प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति र पछिल्लो समय विदेशमा भएका दुःखद् घटनाबारे प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।
दलहरूले संसदीय नियमावलीमा व्यवस्था भएअनुसार प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कार्यान्वयन गर्नुपर्ने विषयमा पनि जोड दिएका छन् ।
त्यस्तै, शून्य, विशेष र आकस्मिक समयमा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले अनिवार्य जवाफ दिनुपर्ने माग गरिएको दुलालले बताए ।
संसद्मा एक सांसदले उठाएको विषयमा अर्को सांसदले सरकारको बचाउ गर्दै जवाफ दिने विगतको अभ्यासले संसदीय मर्यादामा असर परेको भन्दै त्यसलाई सुधार गर्नुपर्ने सुझाव दिइएको उनले बताए ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूले सीमा विवादसम्बन्धी अभिव्यक्ति, सरकारका प्रतिबद्धता र समसामयिक विषयमा संसद्मा उठेका प्रश्नहरूको जवाफ दिनुपर्छ । संसदलाई सौहार्दपूर्ण तरिकाले सञ्चालन गर्ने वातावरण बनाउन सरकारको भूमिका महत्वपूर्ण हुन्छ भन्ने हाम्रो ठहर छ ।’
दुलालले कानुन मन्त्रीले १ सय ६६ वटा विधेयक ल्याउने प्रतिबद्धता जनाए पनि हालसम्म एउटा पनि नयाँ विधेयक दर्ता नभएको भन्दै चिन्ता व्यक्त गरे ।
उनले सदनलाई पर्याप्त बिजनेस दिन र विधेयकहरू छिटो दर्ता गर्न सत्ता पक्षलाई आग्रह गरिएको जानकारी दिए ।
छलफलमा सुनसरीमा हालै भएको घटनाबारे अनौपचारिक कुराकानी भए पनि त्यसलाई संसद्को औपचारिक बैठकमा उठाउने र सरकारसँग जवाफ माग गर्ने समझदारी भएको उनले बताए ।
मंगलबारको छलफल मुख्यतः प्रतिनिधि सभाको आगामी बैठक व्यवस्थापन र दलहरूको जिम्मेवारीमा केन्द्रित रहेको दुलालले जानकारी दिए ।








