व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण हुने स्थितिको अन्त्य गर्न निजी क्षेत्रको आग्रह

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगजनी भएको भन्दै निजी क्षेत्रले आगामी दिनमा आक्रमण नहुने वातावरण बनाउन आग्रह गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले आज एक विज्ञप्ति जारी गर्दै महासंघले पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएको भन्दै व्यक्तिगत एवं व्यावसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासंघले भर्त्सना गरेको हो ।

साथै महासंघले व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताको लागि सम्पूर्ण सबैको ध्यानाकर्षण गराएको छ । महासंघकाअनुसार उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौँ रुपैयाँ बराबरको क्षति भएको छ । यसबारे महासंघले थप विवरण संकलन गरिरहेको छ । क्षतिका कारण राजश्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आङ्कलन महासंघले गरेको छ ।

महासंघले सामाजिक न्याय सहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्याला सहितको मर्यादित रोजगारी सम्भव रहेको बताउँदै स्थायित्वका लागि युवाहरूको चाहना अनुरूप सुशासन, वाक स्वतन्त्रता, स्वतन्त्र भएर पेसा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता गर्न जरुरी रहेको बताएको छ । लगानी एवं रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गरी समुन्नत समाज निर्माणमा योगदान पुर्याउन महासंघले सबैमा आग्रह समेत गरेको छ ।

उद्योग वाणिज्य महासंघले विज्ञप्तिमा भनेको छ–‘निजी क्षेत्रका गतिविधि निर्बाध रूपमा सञ्चालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजश्वमा समेत नकारात्मक प्रभाव पर्न जानेछ । त्यसैले सर्वप्रथम आम सर्वसाधारण तथा उद्यमी व्यवसायले निर्बाध रूपमा पेसा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन हुन आग्रह गर्दछौ । निषेधाज्ञा एवं कर्फ्युका सामयमा पनि अत्यावश्यकता सेवा तथा पेसाकर्मीहरूको आवतजावत एवं वस्तुहरू जस्तै औषधि, खाद्यान्न, दूध, पानी फलपूल तरकारी, पेट्रोलियम पदार्थ आदिको ओसार पसार सहजीकरणको लागि पनि आग्रह गर्दछौँ । यसका लागि केन्द्र, प्रदेश र जिल्ला स्तरमा रहने सुरक्षा समितिमा महासंघ एवं महासंघका सदस्य उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिताका महासंघ आग्रह गर्दछ । यसैगरी गुणस्तरीय सामानको नियमित आपूर्ति गरी बजारमा अभाव सिर्जना हुन नदिनेतर्फ देशैभरका सबै उद्यमी व्यवसायीहरूमा आग्रह पनि गर्दछ । साथै यसको सुनिश्चितताका लागि सम्बन्धित प्रदेश, जिल्ला, नगर एवं वस्तुगत सङ्घहरूले अनुगमन गर्न पनि आग्रह गर्दछौँ । अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएपनि धेरै भन्सार नाका अहिले बन्द रहेका छन् । अत्यावश्यकता लगायतका सामान आयात निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिई सुचारु गर्ने वातावरण निर्माणका लागि पनि महासंघ आग्रह गर्दछ । नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत, राजश्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रका विषय समावेश हुँदा अर्थतन्त्र चलायमान भई समुन्नति र स्थायित्व कायम हुने विश्वास हामीले लिएका छौँ ।’

यस्तै नेपाल उद्योग परिसंघ ९सीएनआई० ले निर्दोष नागरिकको ज्यान जाने कुनैपनि प्रकारको हिंसाको कडा शब्दमा निन्दा गरेको छ । सीएनआईले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै हिंसात्मक गतिविधिबाट भविष्यको बाटो खोज्ने प्रयास राष्ट्रकै लागि ठुलो क्षति हुने टिप्पणी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो भविष्य नेपालका युवाहरूको ऊर्जा, रचनात्मकता र आकाक्षामा निर्भर छ । हिंसाको माध्यमबाट ती आवाजलाई दबाउनु देशकै लागि गम्भीर क्षति हो ।’

परिसंघले संयमता अपनाउन सबै सरोकारवालालाई अपिल गर्दै शान्ति, सुरक्षा र रचनात्मक संलग्नतालाई प्राथमिकता दिन आग्रह गरेको छ । साथै, लोकतान्त्रिक अभिव्यक्ति सुरक्षित राख्नुपर्ने र कानुन, व्यवस्था तथा मानव जीवनको पवित्रता सुनिश्चित गर्ने पहलमा निरन्तर समर्थन रहने स्पष्ट पारेको छ । हालैका जेन्जी आन्दोलनमा सरकारले दमन गरेपछि दोस्रो दिनको आन्दोलनका क्रममा निजी क्षेत्रका उद्योगी–व्यवसायीमाथि आक्रमण भएको थिए ।

मीनबहादुर गुरुङले सञ्चालन गरेका देशभरका १२ वटा भाटभाटेनी सुपरमार्केटमा लुटपाटपछि आगजनी गरिँदा अन्य आधा दर्जन शाखामा समेत क्षति पुगेको थियो । हालैको आन्दोलनका क्रममा व्यापक तोडफोड र आगजनीबाट ठुलो क्षति भोगेको भाटभटेनी सुपरमार्केटले पुनः उठ्ने सङ्कल्प समेत गरेको छ । कम्पनीले सामाजिक सञ्जालमार्फत दिएको सन्देशमा भनिएको छ, ‘दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन । आज हाम्रो पसल ध्वस्त भए पनि तपाईँहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौँ ।’

भाटभटेनीले सरसफाइ र पुनर्निर्माणमा सहयोग गर्ने हजारौँ सहयोगी हातहरूको प्रशंसा पनि गरेको छ ।

पोस्टमा भनिएको छ, ‘हजारौँ सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन्, र हामीलाई फेरि उठ्न शक्ति दिइरहेका छन् ।’

क्षति ठुलो भए पनि आफ्नो प्रतिबद्धता झनै बलियो भएको कम्पनीले स्पष्ट पारेको छ । ‘भाटभटेनी फेरि उभिनेछ । तपाईँहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौँ,’ सन्देशमा उल्लेख गरिएको छ ।

जेन्जी आन्दोलनका क्रममा चन्द्र ढकालको नेतृत्वमा बनेको चन्द्रागिरि हिल्स र मौलाकाली केबलकारको बटम स्टेसन तोडफोडपछि जलाइएको थियो ।
शंकर ग्रुपद्वारा निर्माण गरिएको नक्सालस्थित पाँचतारे हिल्टन होटलमा आगजनीपछि ठुलो क्षति भएको छ भने एनसेलको लैनचौरस्थित मुख्यालयमा समेत आगो लगाइएको थियो ।

उद्योगी शेखर गोल्छाको घरमा तोडफोड गरी चार वटा गाडी जलाइयो भने सञ्जय गोल्छाको निवास समेत पूर्ण रूपमा ध्वस्त पारिएको थियो । वसन्त चौधरीको ठमेलस्थित घरमा क्षति पुगेको छ भने एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोको आवासमा पनि लुटपाट र आगजनी भएको थियो । थापाथलीस्थित टाटा, हुन्डाइ, महिन्द्रा र सिजी मोटर्सका शोरुमलगायत जलाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =