नख्खु जेलबाट भागेका पूर्वराज्यमन्त्री टकला काभ्रेको मंगलटारमा पक्राउ

काठमाडौँ । नख्खु कारागारबाट भागेका पूर्वराज्यमन्त्री सञ्जय साह ‘टकला’ काभ्रेको मंगलटारबाट पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले बिहीबार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका इन्स्पेक्टर दिनेशबहादुर कुँवरले जानकारी दिए । पक्राउ परेका टकलालाई काठमाडौं पठाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ ।

‘नख्खु जेलबाट भागेका १७ जना र सिन्धुलीबाट भागेका २ जनालाई पक्राउ गरेका छौं,’ इन्स्पेक्टर कुँवरले भने, ‘टकला पक्राउ परेकामध्ये एक हुन् ।’

पूर्वराज्यमन्त्री समेत रहेका साहलाई जनकपुर बम काण्डमा दोषी ठहर गर्दै १२ वर्षको जेल सजाय सुनाइएको थियो ।

मधेसी जनअधिकार फोरम र सद्भावना पार्टीबाट सांसद समेत रहेका साहमाथि जनकपुरका मिडिया उद्यमी अरुण सिंहानियाको हत्यामा संलग्न भएको आरोपसमेत छ ।

बुधबार कारागारमा भएको तोडफोड र अराजक घटनाक्रमका बीच उनी नख्खु जेलबाट भागेका थिए ।

सुरक्षाकर्मीले जेल तोडफोडमा संलग्नहरूमाथि नियन्त्रण कायम गर्ने प्रयास गरिरहँदा साह भाग्न सफल भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + fifteen =