उत्तरी गोरखामा स्याउ टिप्न सुरु

गोरखा । हिमाली भेगका बगैँचामा धमाधम स्याउ टिप्ने ‘सिजन’ सुरु भएको छ ।

चुमनुब्री गाउँपालिका–४ नाम्रुङको दुई हजार ६५० मिटर उचाइमा रहेको इन गोरखा प्रोडक्ट प्रालिको स्याउ फार्ममा गाला जातको स्याउ टिपिसकिएको फार्मका सञ्चालक लाक्पा डुण्डुप लामाले जानकारी दिए ।

उनको बगैँचामा गाला, गोल्डेन र फुजी तीन जातका स्याउ छन् । ‘गाला स्याउ टिपिसकियो, अब गोल्डेन टिप्ने तयारी भइरहेको छ’, लामाले भने, ‘अबको एक महिनामा फुजी पनि टिप्ने बेला हुन्छ ।’ यसपटक गाला स्याउ १० हजार किलो उत्पादन भएको उनको भनाइ छ । ‘दुई ट्रक स्याउ काठमाडौँ ल्याइसकेको छ, काठमाडौँ ल्याउन सकेजति सबै भाटभटेनी सुपरमार्केटले किन्ने समझदारी भएको छ’, उनले भने ।

चार वर्षअघि लगाइएको उनको बगैँचामा १२ हजार ५०० बोटमा स्याउ फलेका छन् । उनले आफ्नो उत्पादनलाई ‘चुमनुब्री स्याउ’ नामले ब्राण्डिङ गरेका छन् ।

करिब दुई हजार ७०० मिटर उचाइमा रहेको विशाल मनास्लु फर्म तथा लर्निङ सेन्टरका सञ्चालक छिरिङ लामा यतिबेला टिप्ने बेला भएको लटरम्म स्याउको बगैँचा देखेर दङ्ग छन् । चुमनुब्री–२ ल्होमा रहेको सो स्याउ बगैँचा पाँच हजार बोट लटरम्म स्याउले भरिभराउ छ ।

त्यसमध्ये गाला जातको स्याउ टिप्ने बेला भइसकेको फार्मका सञ्चालक छिरिङ लामाले बताए ।

उनको बगैँचामा गाला, फुजी, गोल्डन डेलिसियसलगायत जातका स्याउ छन् । असोज पहिलो हप्ताभित्रै सबै प्रजातिका स्याउ टिप्न सुरु हुने उनले जानकारी दिए ।

उनको सो बगैँचामा विगत तीन वर्षदेखि स्याउ उत्पादन हुन सुरु भएको हो । उनले आफ्नो बगैँचाको स्याउलाई ‘मनास्लु स्याउ’ नाम दिएर ब्रान्डिङ गरेका छन् । लामाले गत वर्ष आठ हजार किलोग्राम स्याउ उत्पादन गरेका थिए ।

पहिलो वर्ष भने उनको बगैँचामा ७०० किलोग्राम मात्र उत्पादन भएको थियो । उत्पादन बर्सेनि बढ्दै गएको लामाले बताए । ‘यस वर्ष १० हजार किलोग्राम उत्पादन हुने अनुमान छ’, लामाले भने, ‘दुई हजार ८०० मिटर उचाइमा फलेको स्याउ भएकाले यो स्याउ हेर्दा सानो भएपनि निकै रातो, स्वादिलो र हेर्दा पनि निकै आकर्षक हुन्छ ।’ ल्होका अन्य स्थानीयले पनि घरायसी प्रयोगका लागि थोरैथोरै स्याउ उत्पादन गर्ने गरेको उनको भनाइ छ ।

गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्रसँग साझेदारी गरी यहाँ स्याउ बगैँचा विकास गरिएको हो । चार वर्षअघि कृषि निर्देशनालयले इटलीबाट ल्याएको गाला, फुजी, रेड र गोल्डन डेलिसियस जातको स्याउको उन्नत बिरुवा किसानलाई ७० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो ।

स्याउ बगैँचा स्याउखेतीसम्बन्धी अध्ययन गर्न चाहनेका लागि अध्ययन केन्द्रका रुपमा पनि विकास गरिएको छ ।

‘हाम्रो स्याउ फार्म उच्च गुणस्तरको जातको स्याउ उत्पादन गर्ने मात्र नभई स्याउ खेतीको अध्ययन गर्नेहरुका लागि अध्ययन केन्द्रका रुपमा पनि विकास गरेका छौँ’, मनास्लु स्याउका उत्पादक छिरिङ धार्के भन्छन्, ‘यहाँ आएर अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क आवास र खानाको व्यवस्था गर्छौँ ।’ गाउँपालिकाका अधिकांश ठाउँमा स्याउखेती राम्रो हुने हुनाले अरूले किसानले पनि व्यावसायिक स्याउखेती गरून् भन्ने चाहना रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =