बालेन आएर देशलाई निकास दिनुपर्छ, म साथ दिन्छु : दुर्गा प्रसाईँ (भिडिओ)

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई देशलाई निकास दिन आग्रह गरेका छन् ।
व्यवसायी तथा अभियन्ता प्रसाईँले जेनजी आन्दोलनको जिम्मेवारी कसैले लिन नचाहेको भन्दै मेयर बालेनलाई देशको निकास दिन अगाडी आउनुपर्ने बताए ।
उनले मकालुखबरसँग कुराकानी गर्दै मेयर बालेनले फेसबुकमा स्ट्याटस लेख्दै जेनजीहरुलाई उक्साएको तर घटनाको जिम्मेवारी लिन नचाहेको बताए । ‘तपाईँले लेखेको स्टाटसले मात्रै काम दिँदैन, भोली जेनजीहरु सबै थुनामा पर्छन्, तपाईँले वर्तमान अवस्थाको नेतृत्व दिनुस्, देशलाई निकास दिनुस्,’ प्रसाईँले भने ।
उनले मेयर बालेनलाई अन्तरिम सरकारको नेतृत्व लिन सुझाव दिए । उनले आफू मेयर बालेनसँग वार्तासँग तयार रहेको भन्दै देशको निकास दिन आग्रह गरे ।
यद्पी प्रर्साइँले अन्तरिम सरकारको नेतृत्वमा मेयर बालेन र पूर्व प्रधानन्यायाधीश सुशीला कार्की जो आए पनि समर्थन जनाउने बताए ।
उनले आफू सेनाले बोलाएर मात्रै जंगीजड्डा गएको समेत खुलासा गरेका छन् । उनले प्रधानसेनापति अशोक सिग्देलले छलफलका लागि बोलाएकाले मात्रै जंगीअड्डा गएको बताए । ‘म प्रधान सेनापतिलाई भेट्न गएको होइन । बोलाएर गएको हो । जेनजी नेपाली नै हुन् । कोही जिम्मेवारी लिन चाहँदैनन् हामीले पनि सहयोग गर्छौ भन्दाखेरि हामीलाई नआउन भनियो । हाम्रो भनाई त बालेन नै हुँदा हुन्छ । उनले निकास दिउन्’ उनले भने ।
यस्तै, प्रसाईँले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जेनजीको आन्दोलनबाट नाफा लिन खोजको आरोप लगाए । उनले जेनजीको आन्दोलनको फाइदा उठाउँदै रास्वपा सभापति रवि लामिछानेलाई जेलबाट मुक्त गरिएको भन्दै आक्रोश पोखे ।
उनले अदालतले अपराधका लागि पुर्पक्षका लागि जेल चलान गरेको भन्दै सभापति लामिछाने जेलबाट भाग्न नमिल्ने बताए ।
‘जेल भत्काएर रबीजीका मान्छे गएर रबीजीलाई निकाले । त्यो गर्नै हुँदैनथ्यो, अदालतले अपराधका लागि पुर्पक्षका लागि हालेको हो नि त, अदालतले छोडेको होइन नि मलाई जस्तो’ उनले भने ‘जेल भत्क्यो भन्दैमा फुत्त निस्केर आउनुहुन्छ ?, ओहो भन्दै हात हल्लाएर । क्यापसिटि के रैछ रबीजीको ?’
व्यवसायी प्रसाईँले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र रास्वपा एउटै रहेको टिप्पणी गरे ।
प्रसाईँले जेनजी प्रदर्शनकारीहरूलाई कुनै पनि कारबाही गर्न नहुने बताएका छन् । भदौ २३ र २४ गते भएको प्रदर्शनमा सहभागी जेनजीहरुलाई कारबाही गर्न नहुने धारणा राखे ।
प्रसाईँले जेनजीहरुलाई राज्य विरुद्धको मुद्दा लागेमा उनीहरूको भविष्य नै अन्धकार हुने बताए ।
‘सोसल मिडियामा आएका कुराहरू सबैलाई पुलिसले ट्र्याक गर्न थाल्यो भने भोलि सबै जना राज्यविरुद्धको आतङ्कमा पर्छन् । जेनजीका भाइहरूलाई कारबाही हुनु भएन,’ उनले भने, ‘अब राज्यविरुद्धको मुद्दा लागे तिनीहरूको भिसा लाग्दैन । त्यो मुद्दा भरि कहीँ कतै जान पाउँदैन। त्यो मुद्दा सकिनै २० वर्ष लाग्छ ।’








