कहाँ छन् राष्ट्रपति ? सार्वजनिक गर्न सञ्जालमा दबाब

काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपालले सामाजिक सञ्जालमा एउटा सनसनीपूर्ण खुलासा गरेपछि नेपालको राजनीति थप तरंगीत भएको छ ।
उनको दाबीअनुसार, राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हिजो बसेको सुरक्षा प्रमुखहरूको बैठकमा प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रपतिलाई ‘राजीनामा दिन’ आग्रह गरेका छन् र ‘बाँकी हामी सम्हाल्छौं’ भनेका छन् । यसको प्रत्युत्तरमा राष्ट्रपति पौडेलले ‘म राजीनामा दिन्नँ, बरु तपाईंहरू मलाई मारिदिनुहोस् र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लगाइदिनुहोस्’ भन्दै कडा जवाफ दिएको नेपालले उल्लेख गरेका छन् ।
यो खबर सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको अवस्थाबारे व्यापक खोजी सुरु भएको छ । खासगरी जेन-जी पुस्ताले गत मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमाथि सरकारले बल प्रयोग गरेपछि बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आगजनी भएको थियो । आन्दोलनकारी शीतलनिवास प्रवेश गरेपछि नेपाली सेनाले राष्ट्रपति पौडेललाई सुरक्षित स्थानतर्फ सारेको भनिए पनि उनको पछिल्लो अवस्थाबारे सेना वा राष्ट्रपति सचिवालय कसैले पनि औपचारिक जानकारी गराएका छैनन् । राष्ट्रपतिलाई शिवपुरीस्थित सैनिक ब्यारेकमा राखिएको हल्ला चले पनि त्यसको पुष्टि हुन सकेको छैन ।
यसैबीच, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह (बालेन्द्र) ले सामाजिक सञ्जालमार्फत् अन्तरिम सरकार गठन गरी संसद् विघटन गर्न आह्वान गरेपछि अवस्था झनै जटिल बनेको छ । बालेनले फेसबुकमा लेखेका छन्, ‘सम्माननीय राष्ट्रपतिज्यू, जेन-जीहरूले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद्को विघटन अविलम्ब गर्नु होला ।’
बालेनको यो भनाइले लोकतन्त्रमा विश्वास राख्नेहरूमा संविधान गुम्ने चिन्ता बढाएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर’ भन्दै चर्को माग गरिरहेका छन् ।
राष्ट्रपति पौडेलको अवस्थाबारे जानकारी नआएपछि नेपाली सेनामाथि प्रश्न उठ्न थालेको छ । समाज कल्याण परिषद्का कोषाध्यक्ष विनय लामाले फेसबुकमा लेखेका छन्, ‘नेपाली सेनाले आफ्नो परमाधिपति तथा राष्ट्रपति रामचन्द्र पौडेलज्यूको सुरक्षा गर्ने हो, नियन्त्रणमा राख्ने होइन ।’
जेन-जी आन्दोलनकी एक नेतृ तनुजा पाण्डेयले पनि राष्ट्रपति पौडेललाई सार्वजनिक गरिनुपर्ने माग गरेकी छन् । ‘वार्ता छलफल जेजे हुन्छ, त्यो राष्ट्रपतिज्यूसँग हुनुपर्छ, त्यो पनि राष्ट्रपति भवनमा, न कि कुनै सैनिक अड्डा ब्यारेकमा,’ उनले फेसबुकमा लेखेकी छन्, ‘आर्मी सुरक्षा र शान्ति कायमको लागि मात्र सीमित हुनुपर्छ । कुनै सत्ता बनाउने ढाल्ने खेलमा समावेश कदापि हुनु हुँदैन । हामी यो कुरा स्वीकार्नु हुँदैन। साथीहरु राष्ट्रपतिज्यूलाई सेनाले सार्वजनिक गरोस् । राष्ट्रपतिज्यूसँग हुनु पर्छ संवाद ।’
देशको सर्वोच्च पदमा आसिन व्यक्तिको अवस्थाबारे अन्योल बढ्दा संवैधानिक सङ्कट गहिरिने चिन्ता बढेको छ । राष्ट्रपतिको उपस्थिति र सक्रिय भूमिकाबिना देशको राजनीति कुन दिशामा जाने हो भन्ने प्रश्न अनुत्तरित छ ।








