जेन-जीनलाई रविको सन्देश- ‘तपाईँको विवेक र आवेगसँग देशको इतिहास बदल्ने शक्ति छ’

काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज हुने भनिएको ‘Gen Z’ प्रदर्शनलाई ऐक्यबद्धतासहित समर्थन जनाएका छन् । कारागारबाट निजी सचिवालयमार्फत सन्देश पठाउँदै उनले युवाहरूलाई सचेत र विवेकशील भएर सडकमा उत्रिन आह्वान गरेका हुन् ।

लामिछानेले आफ्नो सन्देशमा Gen Z का लागि यो पहिलो सडक प्रदर्शन हुन सक्ने उल्लेख गर्दै शासकहरूले उनीहरूलाई विधि र विवेकको शासन दिन नसकेको र सामाजिक सञ्जालमा आफ्ना भावना व्यक्त गर्ने सानो कुना पनि खोसेको आरोप लगाएका छन् । ‘सत्ता र शक्तिको नशामा चूर अनि घमण्ड र प्रतिशोधको आनन्दमा मग्न यिनीहरूलाई थाहा छैन, तपाईँहरूको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ,’ लामिछानेले आफ्नो सन्देशमा भनेका छन्, ‘भोलिको दिन इतिहासको नयाँ सुरुवातको दिन हो ।’

उनले प्रदर्शनमा घुसपैठ हुन सक्ने भन्दै Gen Z लाई सचेत रहन र उत्तेजित बनाउन खोजिएमा विवेक प्रयोग गर्न आग्रह गरेका छन् । ‘तपाईँको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईँकै हातबाट लेखिँदै छ,’ सन्देशमा भनिएको छ ।

  • सन्देश :-
नखु कारागारबाट रवि लामिछानेको संदेश: जेलको कालकोठरीबाट म तपाईँहरुप्रति शुभेक्षा, सदभाव र ‌ऐक्यबद्दता प्रकट गर्दछु ।
प्रिय Gen Z,
भोलिबाट तपाईँहरु सडकमा ओर्लँदै हुनुहुन्छ । तपाईँहरुमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनुपर्छ । शासकहरुले तपाईँहरुलाइ विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दु:ख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे । सत्ता र शक्तिको नशामा चुर अनि घमण्ड र प्रतिशोधको आनन्दमा मग्न यिनीहरुलाई थाहा छैन, तपाईँहरुको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ । भोलिको दिन इतिहासको नयाँ सुरुवातको दिन हो । घुसपैठ हुनसक्छ सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन् विवेक प्रयोग गर्नुहोस् । तपाईँको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईँकै हातबाट लेखिँदैछ । नख्खु जेलको कालकोठरीबाट म तपाईँहरुप्रति शुभेक्षा, सदभाव र ‌ऐक्यबद्दता प्रकट गर्दछु ।
रवि लामिछाने
सभापति
हाल: नखु कारागार, ललितपुर
(निजी सचिवालय मार्फत्)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =