रामहरीलाई फेरी समितिको सभापति बनाएकोमा रास्वपाको आपत्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली काँग्रेसका सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाएकोप्रति आपत्ति जनाएको छ ।
शुक्रबार भएको समितिको सभापति चयन प्रक्रियामा खतिवडा निर्विरोध चयन भएका हुन् । तर, रास्वपाले यो नियुक्ति संसद्को नैतिक आचरणमाथि गम्भीर प्रश्न उठाउने खालको भएको बताएको छ ।
रास्वपाले सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाउँदै उच्च ओहदाको जिम्मेवारीमा नियुक्ति गर्दा न्यूनतम नैतिक मापदण्डको पालना गर्नुपर्ने उल्लेख गरेको छ । पार्टीले खतिवडाको अघिल्लो कार्यकाललाई स्मरण गराउँदै ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा उनी दोषी देखिएको तर्क अघि सारेको छ ।
खतिवडा यसअघि प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति थिए । संसदीय समितिको छानबिनपछि ‘कुलिङ अफ पिरियड’को नियम उल्लङ्घन गरेको ठहर गर्दै उनले पदबाट राजीनामा दिएका थिए ।
‘जनताको सार्वभौम कानुन निर्माण जस्तो संवेदनशील विषयमा गैरकानुनी रूपमा प्रत्यक्ष संलग्न भई नैतिक संकटमा परी राजीनामा दिनुपरेको व्यक्तिलाई अहिले पुनः संसदीय सुनुवाइ समितिको सभापति जस्तो अझ महत्त्वपूर्ण पदमा नियुक्त गर्ने प्रक्रियाले संसद्कै नैतिक आचरणप्रति प्रश्न खडा गरेको छ,’ रास्वपाले लेखेको ध्यानाकर्षण पत्रमा भनिएको छ ।
पार्टीले विवादास्पद पृष्ठभूमिका व्यक्तिलाई पुनः उच्च जिम्मेवारी दिइनु लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार भएको टिप्पणीसमेत गरेको छ ।
रास्वपाले यस्ता नियुक्तिहरूले संसद्को गरिमा घटाउने र आम जनमानसमा गलत सन्देश जाने भन्दै आपत्ति जनाएको छ ।








