मृत्युको पर्खाइमा रहेका लिम्बुलाई सांसद शर्माको पहलमा नयाँ जीवन

काठमाडौं । मोरङको बेलबारी नगरपालिका–३ का ३८ वर्षीय जापान सिंह लिम्बु तीन वर्षदेखि मिर्गौला फेल भएर मृत्युसँग लडिरहेका थिए ।
कमजोर आर्थिक अवस्थाका कारण समयमै उपचार गर्न नसकेका लिम्बु अन्ततः उपचारको आशा गुमाउँदै मृत्युको प्रतीक्षामा बस्न बाध्य भएका थिए ।
यही पीडादायी अवस्थाको जानकारी पाएपछि स्थानीय युवा नेता तथा समाजसेवी रिक्त गुरुङले घटनाबारे नेपाली कांग्रेसका युवा नेता तथा संघीय सांसद डा. सुनिल शर्मालाई जानकारी गराए । खबर पाउनासाथ सांसद शर्मा स्वयम् लिम्बुको घरमै पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिए र तत्काल काठमाडौं मेडिकल कलेजसँग समन्वय गरी सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्था मिलाए ।
काठमाडौं मेडिकल कलेजमा डा. विजयमान सिंह कटुवाल र डा. सुरेश महर्जनको नेतृत्वमा गरिएको सफल प्रत्यारोपण शल्यक्रियामा लिम्बुलाई उनका ६० वर्षीय पिता धनप्रसाद लिम्बुले मिर्गौला दान गरेका थिए । सफल अपरेशनपछि अहिले जापान सिंह लिम्बुको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ ।
सांसद डा. शर्मा प्रतिनिधिसभाका ती विरलै नेतामध्ये एक हुन्, जसले अहिलेसम्म आफ्नो तलब–भत्ता लिएका छैनन् । सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म स्वास्थ्य सेवा पुगोस भन्ने उद्देश्यले उहाँले देशभर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । शिविरबाट उपचार सम्भव नभएका बिरामीको लागि काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएका छन् ।
यस्तै, डा. शर्माको पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका नागरिकका लागि ५० शय्याको निःशुल्क क्याबिन समेत सञ्चालनमा ल्याइएको छ । हालै मात्रै उनले बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन् भने निजी लगानीमा देशका सात स्थानमा एम्बुलेन्स सेवा उपलब्ध गराइसकेका छन् ।
जिन्दगीको अन्तिम घडी कुरिरहेका एक नागरिकलाई नयाँ जीवन दिन सांसद शर्माले देखाएको यो मानवीयता ‘साँचो नेता भनेको जनताको अभिभावक हो’ भन्ने सन्देश दिने उदाहरण बनेको छ । कठिन परिस्थितिमा गरिएको यस्तो सहृदय पहलले समाजमा सकारात्मक ऊर्जा फैलाएको छ ।









