जुङ्गे महादेव मन्दिर पुनःनिर्माण

बाँके । नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा तलाउबीच भागमा रहेको जुङ्गे महादेवको मन्दिर पनुःनिर्माण गरिएको छ । मन्दिर पनुःनिर्माण भएपछि यहाँ भक्तजनको चहलपहल बढेको छ ।

साँघुरो र जीर्ण अवस्थामा रहेको जुङ्गे महादेवको मन्दिर र पुललाई नेपालगञ्ज उपमहानगरपालिकाले पुनःनिमाण गरेको हो । अहिले मन्दिरमा पूजा आजा गर्न आउने भक्तजनको सङ्ख्या बढ्दै गएको छ ।

यहाँ साँघुरो पुललाई फराकिलो समेत बनाइएको छ । अब फराकिलो पुल बनेका कारण समेत दर्शन गर्न सजिलो भएको नेपालगञ्ज–२१ फुल्टेक्राकी सिर्जना थापाले बताइन् ।

उनले भनिन्, ‘पहिला पूजा गर्न लामो समय लाइन लाग्नु पथ्र्यो अब त्यो समस्या हटेको छ ।’ पहिला साँघुरो र कमजोर भइसकेको पुल हुँदै मन्दिर पुग्नुपर्ने अवस्था थियो । अहिले धेरै भक्तजनले एकै पटक दर्शन गर्न पाएका छन् ।

अहिले बागेश्वरी मन्दिर आउने भक्तजनले जुङ्गे महादेवको समेत दर्शन गर्न थालेका बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगीले बताए । आकर्षक शैलीको जुङ्गे महादेवको मन्दिरमा अहिले भक्तजनको चहलपहल बढेको उनको भनाइ छ ।

दर्शनार्थीलाई आउने र जाने गरी डोरी बाँधेर अलग–अलग बाटो बनाइएको छ । बागेश्वरी मन्दिरमा दैनिक भक्तजनको घुइँचो लाग्छ । पहिला सीमित व्यक्तिलाई मात्रै जान दिएर जुङ्गे महादेवको पूजा गर्न दिने गरिएको थियो ।

वि.सं २०७८ साउनमा पुल जोखिमपूर्ण बनेको भन्दै मन्दिरको प्रवेशद्वारमा पूजाआजाको व्यवस्था मिलाइ महादेवको मूर्तिसम्म पुग्न रोक लगाइएको थियो ।

भक्तजनको पुल पनुःनिर्माण हुनुपर्ने मागलाई ध्यानमा राखेर २०७९ सालदेखि निर्माणको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताए ।

उनका अनुसार, करिब एक करोड नौ लाखको लागतमा मन्दिर पनुःनिर्माण गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 2 =