सत्तापक्षको कर्कस र अराजक शैलीका कारण लोकतन्त्र कमजोर भयो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सरकारको अराजक, असहिष्णु र कर्कस शैलीका कारण लोकतन्त्र कमजोर बन्दै गएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले आफूहरू ९५ दिनदेखि निरन्तर आन्दोलनरत रहे पनि सत्तापक्षले सुन्न नचाहेको भन्दै आपत्ति जनाए ।
‘हामी विगत ९५ दिनदेखि आन्दोलित छौं । हामी आन्दोलित हुँदैगर्दा सत्तापक्षले सुन्दैन । अझ सत्तापक्षका सांसदहरुले हाम्रो प्रतिवाद गर्न घण्टौं समय खेर फालिरहेको छ । कर्कस, अराजक, असहिष्णु सैलीसँग हामीमाथि मिथ्या आरोपहरु लाइरहनु भएको छ’ उनले भने ।
उनले पार्टीका नेताहरुका डीपफेक भ्वाइस रेकर्डहरु प्रयोग गरेर चरित्र हत्या गर्ने प्रवृत्ति बढेकोप्रति पनि संसदको ध्यानाकर्षण गराए ।
उनले संवैधानिक आयोगहरू दलगत प्रभावमा परेर निष्क्रिय पारेको आरोप पनि लगाए । ‘यो सदनभित्र सिर्जनात्मक बहस गर्ने हामीहरुमाथि र हाम्रा बहसहरु सुन्न नसकेर डीपफेक भ्वाइस रेकर्डहरु समेत बाहिर छरपस्ट पार्न थालिएको छ । म यो शैली र चरित्रको निन्दा गर्न चाहान्छु’ उनले थपे ।
२०८४ मा जनताले लोकतन्त्र सक्रिय बनाउनको लागि आवश्यक निर्णय गर्ने उनको जिकिर छ । उनले भने– ‘२०८४ मा यो लोकतन्त्र जुरुक्क उठ्ने छ । ०८४ अख्तियार पनि जुरुक्क उठेर काम गर्न थाल्छ । दलीयकरणमार्फत कब्जा गरिएका संवैधानिक आयोगहरु २०८४ पछि उठेर काम गर्न थाल्छन् ।’








