संविधान कार्यान्वयनमा ढिलाइ हुँदा मुलुकमा सुशासन कायम हुन सकेन : अध्यक्ष राई

काठमाडौं । जनता समाजवादी पार्टी का अध्यक्ष अशोककुमार राईले संविधान कार्यान्वयनमा ढिलाइ हुँदा मुलुकमा सुशासन कायम गर्न हुन नसकेको टिप्पणी गरेका छन् ।

मंगलवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रत्येक १० वर्षमा संविधानको समिक्षा गर्नुपर्ने व्यवस्था भएपनि अहिलेसम्म संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माण गर्नै नसकिएको बताए ।

संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा तीव्रता दिनुपर्नेमा उनको जोड छ । उनले अख्तियारसम्बन्धी विधेयक समितिमै अल्मलिँदा जनतामा असन्तुष्टि बढ्दै गएको बताए ।

कानून निर्माणमा सरकारी हस्तक्षेपका कारण कानून निर्माणमा ढिलाइ हुने गरेको पनि उनको आरोप छ ।

उनले भने, ‘हामीले १० वर्षमा समिक्षा गर्ने भनेका थियौं । तर यो अवधिमा संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन नै बनाउन सकेनौं । बल्ल हामीले एउटा निजामति ऐन बनायौं । प्रहरीसम्बन्धी लगायत ऐन निर्माणकै क्रममा छ । यद्यपि माननीयज्युहरुले हलो अड्काउने काम गर्नुभएको छ । कानून निर्माण गर्दा पनि सरकारले चाहेकै जस्तो ऐन पास गर्नुपर्ने स्थिति छ । अख्तियारसम्बन्धी विधेयक अल्मलिएको छ । यसले हामी सबैलाई अपमानित पनि गरेको छ । समितिमा आएका आपत्ति र गुनासालाई पनि हेर्नुपर्ने आवश्यकता छ । हाम्रो देशमा अहिले सुशासनको समस्या छ । यसले जनतामा व्याप्त असन्तुष्टि बढाएको छ । प्रशासकहरूका समस्या समाधान र अनुमान गरेर यसमा सुधार गर्न आवश्यक छ ।’

उनले मुलुकको सबैभन्दा ठूलो समस्या सुशासन भएको बताए । मुलुकमा सुशासन कायम गर्न प्रशासकहरूका समस्याहरू हल गर्नेतर्फ सरकारको ध्यानाकर्षण हुनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =