चीनमा पुटिन-ओली वार्ता

नेपालसँगको सम्बन्धमा रुसलाई कहिल्यै समस्या भएन : पुटिन

काठमाडौँ । नेपाल र रुसबीचको कूटनीतिक सम्बन्धले झन्डै सात दशकको लामो यात्रा तय गरिसकेको छ । यस ऐतिहासिक सम्बन्धमा कहिल्यै कुनै समस्या नआएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको थियानजिनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तामा स्पष्ट पारेका हुन् ।

सन् १९५६ मा स्थापित दुई देशबीचको कूटनीतिक सम्बन्धलाई पुटिनले ‘ऐतिहासिक रूपमा सुदृढ’ भन्दै यसको महत्वलाई जोड दिएका हुन् । ‘यदि मलाई ठिक याद छ भने, हामीले सन् १९५६ मा हाम्रा देशहरूबीच कूटनीतिक सम्बन्ध स्थापना गरेका थियौँ । अर्को वर्ष हाम्रो एक प्रकारको वार्षिकोत्सव पनि छ । तर आज पनि हामी हाम्रो सहकार्यको इतिहासका उपलब्धिहरूलाई हेर्न सक्छौँ । मैले यो भन्नै पर्छ कि हाम्रो कहिल्यै कुनै समस्या भएन,’ राष्ट्रपति पुटिनले भने ।

अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपाल र रुसका धारणा प्रायः नजिक वा मेल खाने गरेको पुटिनले उल्लेख गरे । यसले दुई देशबीचको कूटनीतिक सामञ्जस्यता र साझा चासोहरूलाई प्रतिबिम्बित गर्दछ । प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनबीचको यस भेटवार्तामा व्यापार–लगानी, अन्तर्राष्ट्रिय मामिलामा सहकार्य, क्षेत्रीय तथा बहुपक्षीय समन्वय र रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा गहन छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल र रुसबीचको सम्बन्ध केवल कूटनीतिक स्तरमा मात्र सीमित छैन, यो जनस्तरमा पनि सुमधुर रहँदै आएको छ । रुसले नेपालको विकासमा विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ भने नेपाली विद्यार्थीहरूका लागि उच्च शिक्षाको गन्तव्य पनि बन्दै आएको छ । दुई देशबीचको संस्कृति, पर्यटन र शैक्षिक आदानप्रदानले सम्बन्धलाई थप प्रगाढ बनाएको छ ।

नेपालको ‘एक चीन नीति’ र रुसको ‘सार्वभौमिक समानता’ को सिद्धान्तले अन्तर्राष्ट्रिय सम्बन्धमा दुवै देशको अडानलाई स्पष्ट पार्दछ । यस भेटले दुई देशबीचको विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =