अमेरिकी राष्ट्रपतिको नीतिले जुरायो मोदी-सी सहकार्य, भने- ड्रागन र हात्ती मिल्नुपर्छ

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सात वर्षपछि प्रत्यक्ष भेटवार्ता भएको छ । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) को क्षेत्रीय सम्मेलनका लागि चीन पुगेका प्रधानमन्त्री मोदीले पूर्वी सहर टियानजिनमा राष्ट्रपति सीसँग एक घण्टा लामो छलफल गरेका हुन् ।
राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री नरेन्द्र मोदीको भेटवार्ताले दुई देशबीचको सम्बन्धमा एउटा नयाँ अध्यायको सुरुवात गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय दुवै देशप्रति लिएको कडा नीतिका कारण पनि चीन-भारतबीचको सामिप्यता बढ्नुको अर्को प्रमुख कारण मानिएको छ । ट्रम्प प्रशासनले भारतमाथि आयात शुल्क बढाउने र रुसी कच्चा तेल खरिदमा चेतावनी दिएपछि भारत चीनसँग नजिकिएको देखिन्छ ।
भेटवार्तामा दुवै राष्ट्रप्रमुखले एकअर्काको राम्रो छिमेकी बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपति सीले ‘आजको विश्व अभूतपूर्व परिवर्तनबाट गुज्रिरहेको छ । अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर र जटिल छ । यस्तो अवस्थामा दुवै पक्षका लागि उत्तम विकल्प भनेको राम्रो छिमेकी र मित्रवत् साझेदार बन्नु हो, जसले एकअर्काको सफलता सुनिश्चित गर्छ । हात्ती र ड्रागनले सँगसँगै नृत्य गर्नु भनेको यही हो,’ भन्दै दुई देश प्रतिद्वन्द्वी नभई साझेदारका रूपमा अगाडि बढ्दा सम्बन्ध दीर्घकालीन रूपमा स्थिर रहन सक्ने बताएका छन् ।
प्रधानमन्त्री मोदीले पनि सीको कुरामा सहमति जनाउँदै आपसी विश्वास र सम्मानका आधारमा सम्बन्धलाई अगाडि बढाउन भारत प्रतिबद्ध रहेको बताएका छन् । उनले ‘सीमामा तनाव कम भएको र सम्बन्ध सुधारतर्फ अघि बढिरहेको छ । हाम्रो २८० करोड जनताको हित आपसी सहकार्यसँग जोडिएको छ,’ भनेका छन् ।
सीसँगको भेटका क्रममा प्रधानमन्त्री मोदीले चीनमा सीधा हवाई उडान पुनः सुरु गर्ने घोषणा गरेका छन् । सन् २०२० को सुरुमा कोभिड महामारीका कारण दुई देशबीचका उडान बन्द भएका थिए । सोही वर्षको जुन महिनामा गलवान उपत्यकामा भएको भिडन्तपछि सम्बन्ध बिग्रिएकाले कोभिड महामारी सकिएपछि पनि उडान सुरु हुन सकेका थिएनन् । मोदीले उडान कहिलेदेखि सुरु हुने भन्ने चाहिँ खुलाएनन् । इन्डिगोले पहिलेदेखि नै चीन उडान गर्ने बताएको छ भने एयर इन्डियाले पनि चीन उडान गर्ने अपेक्षा गरिएको छ ।
सन् २०२० जुनमा सीमा क्षेत्रको गलवान उपत्यकामा भएको सैन्य झडपपछि भारत र चीनको सम्बन्ध बिग्रिएको थियो । हतियारबिना भएको सो भिडन्तमा २० भारतीय र चार चिनियाँ सैनिक जवानको मृत्यु भएको थियो । गत वर्षको अन्त्यदेखि बल्ल दुई देशको सम्बन्ध सुध्रिन थालेको थियो । हालै चीनका विदेश मन्त्री वाङ यीले भारत भ्रमण गरेका थिए, जहाँ उनले भारत र चीनले एकअर्कालाई प्रतिद्वन्द्वी नभएर साझेदार ठान्नु पर्ने बताएका थिए ।
भ्रमणका क्रममा चीनले दुर्लभ खनिज पदार्थबाट बनेको चुम्बक, मल र सुरुङ खन्ने मेसिनहरूको भारत निर्यातमा लगाएको प्रतिबन्ध हटाउन पनि सहमत भएको थियो । ब्लुमबर्गका अनुसार भारतमा युरिया मल निर्यात गर्न चीनले लगाएको प्रतिबन्ध अगस्ट महिनादेखि खुकुलो बनाएको छ । त्यस्तै, मोदी निकट व्यवसायी गौतम अदानीको समूहले भारतमा ब्याट्री उत्पादन गर्न चिनियाँ विद्युतीय सवारी निर्माता बीवाईडीसँग छलफल गरिरहेको छ । प्रधानमन्त्री मोदीले चिनियाँ नागरिकलाई पर्यटक भिसामा लगाएको प्रतिबन्ध यसअघि नै हटाइसकेका छन् भने चीनले पनि भारतीय तीर्थयात्रीका लागि मानसरोवर यात्रा खुला गरिसकेको छ ।








