अफगानिस्तानमा भूकम्पका कारण २० जनाको मृत्यु, उद्धारमा कठिनाई

काठमाडौं । आइतबार राति अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पले जनजीवन अस्तव्यस्त बनाएको छ । पाकिस्तानको सीमा नजिकै स्थानीय समयानुसार राति ११:४७ बजे गएको ६.० म्याग्निच्युडको भूकम्पमा परी कम्तिमा २० जनाले ज्यान गुमाएका छन् भने ११५ भन्दा बढी घाइते भएका छन् ।
बीबीसीले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार, घाइतेहरूको नंगरहार र कुनार प्रान्तका अस्पतालहरूमा उपचार भइरहेको छ । ८ किलोमिटर गहिराइमा गएको यस भूकम्पपछि ४.५ देखि ५.२ म्याग्निच्युडका कम्तिमा तीनवटा पराकम्पन पनि महसुस गरिएको थियो ।
भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल (करिब २०० किलोमिटर टाढा) र पाकिस्तानको राजधानी इस्लामाबाद (करिब ४०० किलोमिटर टाढा) सम्म महसुस गरिएको एएफपीले उल्लेख गरेको छ । प्रभावित प्रान्तहरू दुर्गम र विकट भौगोलिक बनावटका कारण उद्धार कार्यमा कठिनाई भएको छ । ती क्षेत्रका अधिकांश घरहरू भूकम्प प्रतिरोधी नभएकाले मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
तालिबान सरकारका अधिकारीहरूले दुर्गम हिमाली क्षेत्रमा उद्धार कार्यका लागि अन्तर्राष्ट्रिय सहायता संगठनहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । कुनार प्रान्तका प्रहरी प्रमुखले बीबीसीलाई दिएको जानकारी अनुसार, बाढी र भूकम्पपछि गएका पहिरोका कारण प्रभावित क्षेत्रमा जाने सडकहरू बन्द भएका छन् । यसले उद्धार कार्य हवाई मार्गबाट मात्र सम्भव भएको जनाइएको छ ।
तालिबान अधिकारीहरूले आफ्ना स्रोतसाधन सीमित भएको भन्दै प्रभावित क्षेत्रमा पुग्न अन्तर्राष्ट्रिय संस्थाहरूलाई हेलिकप्टर उपलब्ध गराउन आग्रह गरेका छन् । भूकम्पको निगरानी गर्ने अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीसी) ले यस भूकम्पमा सयौं मानिसको मृत्यु हुन सक्ने अनुमान गरेको छ ।








