एकै हप्तामा उजाडियो संसार : कुवेतमा डम्बर र घरमा विद्याको निधनपछि तीन छोरीको बिचल्ली

धनकुटा । वैदेशिक रोजगारीले नेपाली समाजमा ल्याएको अवसरसँगै गहिरो त्रासदी पनि सँगै ल्याएको छ । यसको ज्वलन्त उदाहरण धनकुटाको महालक्ष्मी नगरपालिका-१, कटहरेमा देखिएको छ, जहाँ श्रीमान्–श्रीमतीको अकाल निधनले तीन छोरीहरूलाई अभिभावकविहीन बनाएको छ ।

करिब दुई वर्षअघि सुनौलो भविष्यको सपना बोकेर कुवेत पुगेका ४३ वर्षीय डम्बर मगरको करिब १० दिनअघि विषाक्त मदिरा सेवनका कारण दुःखद निधन भयो । डम्बरको मृत्युको खबरले ३४ वर्षीया उनकी श्रीमती विद्या मगरमाथि बज्रपात पर्‍यो । श्रीमान् गुमाएको पीडा सहन नसकी विद्याको तीन दिनभित्रै निधन भयो । एकै हप्तामा आमाबाबु दुवै गुमाउँदा १७ वर्षीया विपना, १६ वर्षीया सञ्जु र दुई वर्षीया संयुक्त मगर अभिभावकविहीन बनेका छन् ।

जेठी विपना र माइली सञ्जु हाल धनकुटा नगरपालिका-५ स्थित गोकुण्डेश्वर बालमन्दिर विद्यालयमा क्रमशः कक्षा १२ र ११ मा अध्ययनरत छन् । उनीहरू अहिले आफ्नो बुबाको शव कुवेतबाट आउने प्रतीक्षामा किरियापुत्री बसिरहेका छन्। कान्छी संयुक्तले आमाबाबुको न्यानो मायाविना नै आफ्नो जीवनको प्रारम्भिक चरण पार गर्नुपरेको छ । 

महालक्ष्मी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर गुरुङले दम्पत्तिको असामयिक निधनले सिंगो वडा शोकमा डुबेको बताए । उनले बेसहारा बनेका छोरीहरूको लालनपालन र शिक्षाका लागि स्थानीय स्तरमा सहयोग संकलन अभियान सुरु गरिएको जानकारी दिए । साथै, दीर्घकालीन व्यवस्थापनका लागि बैंक खाता खोलेर कोष स्थापना गर्ने पहल भइरहेको पनि उनले बताए ।

यो घटना केवल एक परिवारको त्रासदी मात्र होइन । यो त वैदेशिक रोजगारीका क्रममा नेपालीहरूले भोग्नुपरेको असुरक्षा र लापरबाहीको एक कारुणिक चित्र हो । कुवेतमा विषाक्त मदिरा सेवनका कारण हालसम्म २२ भन्दा बढी नेपालीको ज्यान गइसकेको छ भने अझै धेरै अस्पतालमा उपचाररत छन् । डम्बर र विद्याको निधनले पारेको शून्यले तीन छोरीको भविष्यमाथि गम्भीर प्रश्न खडा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =