गोप्य अडिओ संवाद प्रकरण: थाईल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न बर्खास्त

काठमाडौं । थाईल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट बर्खास्त गरेको छ । अदालतले कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँग भएको फोन कलमा संवैधानिक र नैतिकता सम्बन्धी नियमको उल्लङ्घन गरेको ठहर गर्दै शुक्रबार उनलाई पदमुक्त गरेको हो ।
अदालतको फैसला लागू हुनेबित्तिकै पेटोङटार्नको लगभग एक वर्ष लामो कार्यकाल अन्त्य भएको छ । अदालतले उनिविरुद्धको मुद्दा जुलाई १ मा दर्ता गरेसँगै उनलाई तत्कालीन रूपमा निलम्बन गरेको थियो । त्यसयता उपप्रधानमन्त्री फुमथम वेचाचाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हालिरहेका छन् ।
पेटोङटार्नले जुन १५ मा कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनसँग फोन संवाद गरेका गरेकी थिइन् । यो संवाद दुई मुलुकबीचको विवादित सीमा तनावलाई कम गर्न गरिएको भनिए पनि, अदालतले यसलाई राष्ट्रिय सुरक्षामा असावधानी ठहर ग¥यो । उक्त फोन कलले थाई सेनाका जनरलहरूलाई बदनाम गरेको र संवैधानिक मर्यादा उल्लङ्घन गरेको आरोप लगाइएको छ ।
उक्त संवाद मे महिनामा सीमा क्षेत्रमा भएको हिंसात्मक घटनापछि भएको थियो, जसमा एक कम्बोडियन सैनिकको मृत्यु भएको थियो । जुन महिनाको अन्त्यतिर दुई मुलुकबीच पाँच दिनसम्म चलेको सशस्त्र झडपमा दर्जनौँको मृत्यु र २ लाख ६० हजारभन्दा बढी विस्थापित भएका थिए ।
अदालतको फैसलाले पेटोङटार्न नेतृत्वको फेउ थाई गठबन्धन सरकारलाई गम्भीर राजनीतिक संकटमा पु¥याएको छ । फोन कल प्रकरणपछि सत्तारूढ गठबन्धनको ठूलो साझेदार भुमजाइथाई पार्टी गठबन्धनबाट बाहिरिएको छ, जसले प्रतिनिधि सभामा सरकारको बहुमत संकटमा पारेको छ ।
यो घटनाले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा नेतृत्वको राजनीतिक धारलाई पनि ठूलो झट्का दिएको छ। सन् २००६ मा सैनिक कूबाट अपदस्थ थाक्सिन अहिले पनि थाई राजनीतिमा प्रभावशाली पात्र मानिन्छन् ।
थाई–कम्बोडिया सम्बन्धमा यस घटनाले थप तनाव सिर्जना गरेको छ । हुन सेनले ३८ वर्ष शासन गरेका कम्बोडियामा अहिले उनका छोरा हुन मानेट प्रधानमन्त्री छन् । नेतृत्वमा परिवर्तन भए पनि सीमाको विषयमा दुवै मुलुकको कूटनीतिक तानातान कायमै छ ।








