एनआरएनहरूले नेपालको सम्पत्ति बेचेर विदेशमा लैजान हुन्न : पूर्वअध्यक्ष आचार्य

काठमाडौँ । गैरआवसिय नेपाल संघका एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यले एनआरएनहरूलाई दोहोरो नागरिकता दिएपछि सम्पत्ति बेचेर लैजाने गरेको आरोप लाग्ने गरेको बताएका छन् ।
गैरआवासीय नेपाली संघ एनआरएनए उच्चस्तरीय समितिले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई नगद तथा जिन्सी सामग्री हस्तान्तरण गर्न आयोजना गरेको कार्यक्रममा उनले त्यस्तो आरोप लागे पनि एनआरएनहरूलाई नागरिकता दिने हो भने सम्पत्ति बेचेर नजाने स्पष्ट पारे ।
उनकाअनुसार एनआरएनहरूले अझै पनि सहजै नागरिकता नपाउँदा सम्पत्ति बेचेर जानुपर्ने अवस्था रहेको छ । त्यसको अन्त्यका लागि सरकारले सहजै गैरआवसिय नेपालीहरूलाई नागरिकताको प्रबन्ध गर्नुपर्ने उनले बताए ।
जन्मभूमिको माटो बेचेर संसारभर रहेका नेपालीले सम्पत्ति विदेशमा लैजान पनि नहुने आचार्यको भनाइ रहेको छ । उनले विदेशमा रहेका नेपालीहरूले आर्जेको कमाइ नेपालमै लगानी गर्नुपर्ने समेत बताए ।
पूर्वअध्यक्ष आचार्यले भने ‘जन्मभूमिको माटो बेचेर विदेशी भूमिमा नलगिदिनुस् । हामीले जति सकिन्छ नेपालमै लगानी गरौँ । देशमा जस्तो अवस्था भए पनि एनआरएनहरूले गरेको लगानी राम्रै भएका छन् । त्यस्तो नराम्रो केही भएको छैन । मातृभूमिको माटो बेच्नु हुँदैन मेरो सबैमा अनुरोध यही छ ।’
कार्यक्रममा गैरआवासीय नेपाली संघ उच्चस्तरीय समितिका प्रतिनिधिहरूले संघको आगामी कार्यक्रम र गतिविधि सहज बनाउन आवश्यक सहयोग स्वरूप नगद तथा जिन्सी सामग्री उपलब्ध गराएका थिए ।








