अध्यक्ष ओलीको चेतावनी- ‘लिङ्देनले झापामा जितेको हेरौँ न’

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति कडा टिप्पणी गरेका छन् । ओलीले लिङ्देनको झापा ३ बाट प्राप्त जित एमालेको सहयोगबिना असम्भव रहेको र रवि लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री आफूले बनाएको दाबी गरेका हुन् ।

बुधबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पार्टीका बागमती प्रदेशका अगुवा नेता(कार्यकर्तासँगको भेटमा ओलीले गत निर्वाचनका समीकरण र त्यसपछिका घटनाक्रमबारे आफ्नो धारणा स्पष्ट पारेका थिए । ‘राजेन्द्र लिङ्देनले अब झापामा जितेको हेरौं न,’ एमाले काठमाडौँ अध्यक्ष दीपक निरौलाले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘हिजो पो हामीले सहयोग गरेका थियौँ ।’

२०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट लिङ्देनले नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई ४० हजार ६६२ मतका साथ पराजित गरेका थिए । उक्त निर्वाचनमा एमालेले झापा ३ मा उम्मेदवार उठाएको थिएन, जसलाई लिङ्देनको जितमा एमालेको ‘अप्रत्यक्ष’ सहयोगका रूपमा व्याख्या गरिएको थियो । सोही निर्वाचनमा ओली भने झापा क्षेत्र नम्बर ५ बाट ५२ हजार ३१९ मत प्राप्त गर्दै विजयी भएका थिए, जहाँ राप्रपाले पनि उम्मेदवार खडा गरेको थिएन । ओलीको यो भनाइले राप्रपासँगको भावी राजनीतिक सहकार्यमा चुनौती उत्पन्न गर्न सक्ने विश्लेषण गरिएको छ ।

यसैगरी, ओलीले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै ‘मैले नै उपप्रधानसहित गृहमन्त्री बनाएको हुँ’ भन्ने दाबी गरेका छन् । छलफलका क्रममा ओलीले एमालेले राष्ट्रियताबारे कुनै राजनीति नगर्ने र आफ्नो नेतृत्वको सरकारविरुद्ध अदालत मार्फत बाधा हाल्ने प्रयास भइरहेको बताएका थिए । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने भन्दै सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधीन अवस्थामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + fifteen =