विघ्नहर्ता भगवान गणेशको जन्मोत्सव: देशभर श्रद्धाभक्तिपूर्वक गणेश चतुर्थी मनाइँदै

काठमाडौँ । आज भाद्र शुक्ल चतुर्थी, अर्थात् गणेश चतुर्थी । देशभरका वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले सिद्धि र सफलताका देवता भगवान गणेशको विशेष पूजा, आराधना र भक्तिसहित जन्मोत्सव मनाइरहेका छन् । हरेक शुभकार्यको आरम्भमा पूजा गरिने गणेशको जन्मदिनको अवसरमा देशभरका गणेश मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
काठमाडौं उपत्यकाका प्रसिद्ध सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायक तथा कमलादी गणेश मन्दिरमा बिहानैदेखि विशेष चहलपहल छ । गणेशलाई प्रिय मानिने लड्डु (मोदक) चढाउँदा मनोकामना पूरा हुने जनविश्वासअनुसार अधिकांश भक्तजनहरू हातमा मोदक लिएर पूजाअर्चनाका लागि मन्दिर पुगेका छन् । शिवपुराणमा उल्लेख भएअनुसार आजकै दिन भगवान गणेशको जन्म भएको थियो । कुनै पनि धार्मिक वा सामाजिक कार्य आरम्भ गर्नुअघि गणेशको पूजा गर्दा उक्त कार्य निर्विघ्न सफल हुने मान्यता रहिआएको छ ।
हरितालिका तीजको भोलिपल्ट मनाइने यो पर्वलाई महिलाहरूले पनि विशेष महत्वका साथ लिने गर्छन् । हिजो तीजको व्रत बसेका महिलाहरूले आज बिहानै गणेशको पूजा गरी दिनभर नाचगान र उत्सवमा सामेल हुने गर्छन् । भोलि (बिहीबार) ऋषिपञ्चमी पर्व मनाइएपछि तीज औपचारिक रूपमा समापन हुनेछ ।
नेवार समुदायमा ‘चथाः पर्व’को रौनक
यसैबीच, काठमाडौं उपत्यकाका नेवार समुदायले आजको दिनलाई ‘चथाः पर्व’का रूपमा विशेष उल्लासका साथ मनाउँदैछन् । यस दिन साँझमा चन्द्रमाको पूजा गर्ने परम्परा छ । आजको दिन चन्द्रमालाई ‘चोर देवता’का रूपमा पूजा गर्ने अनौठो तर मौलिक चलन रहेको छ । कमलको फूल, चथा फूल, विभिन्न फलफूल र अदुवाको बोट जस्ता सामग्री चढाएर चन्द्रमाको पूजा गरी यो पर्व मनाइन्छ ।








