सर्वोच्चले भन्यो– पशुपतिमा नागा बाबाहरूले नग्नता देखाउनु अश्लील होइन

काठमाडौँ । सर्वोच्च अदालतले केवल शारीरिक रूपमा निर्वस्त्र हुनु मात्र अश्लीलताको सूचक नहुने स्पष्ट पारेको छ । पशुपतिनाथ मन्दिर परिसरमा शिवरात्रीका अवसरमा देखिने नागा बाबाहरूको नग्न उपस्थितिलाई रोक लगाउन माग गर्दै दायर गरिएको रिटमाथि फैसला सुनाउँदै सर्वोच्चले नग्नता र अश्लीलताको छुट्टाछुट्टै अर्थ हुने व्याख्या गरेको हो ।
न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको इजलासले २०७४ माघ २८ मा दायर रिटमाथि २०८१ भदौ २७ मा सुनाएको पूर्णपाठमा नग्नता धार्मिक अभ्यासको अभिव्यक्तिका रूपमा लिनुपर्ने उल्लेख गरिएको छ । रिट अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेका थिए ।
फैसलाको पूर्णपाठमा भनिएको छ, ‘नग्नता एउटा वस्त्रविहीन अवस्था हो । तर अश्लीलता भने यौनिक उत्तेजना ल्याउने, सामाजिक–सांस्कृतिक दृष्टिले लाजमर्दो र आपत्तिजनक अभिव्यक्ति हो । नग्नताका सबै अवस्थालाई अश्लील मान्न सकिँदैन ।’
सर्वोच्चले यस्ता मुद्दामा सन्दर्भ, उद्देश्य, सामाजिक मान्यता र कानुनी व्यवस्थाका आधारमा मूल्यांकन गर्नुपर्ने जनाएको छ । ‘प्राचीन मन्दिरका टुँडालहरूमा कुँदिएका श्रृङ्गार रसयुक्त मूर्तिहरू वा संग्रहालयमा राखिएका नग्न चित्रहरूलाई अश्लील मान्न सकिँदैन,’ फैसलामा भनिएको छ ।
सर्वोच्चले नागा बाबाहरूको निर्वस्त्र अवस्थालाई सनातन धार्मिक अभ्यास र परम्पराको हिस्सा मानेको छ । ‘शिवालयहरूमा विशेष अवसरमा देखिने नागा बाबाहरूको नग्नता उनीहरूको आस्था र साधनाको अभिन्न अङ्ग हो,’ फैसलामा भनिएको छ ।
नागा बाबाहरूको गतिविधिले महिला तथा बालबालिकामा यौनिक भ्रम सिर्जना गर्ने वा हिंसा बढाउने निवेदकको दाबीलाई सर्वोच्चले अस्वाभाविक र तर्कहीन ठहर गरेको छ ।
रिटमा शिवरात्रीमा नागा बाबाहरूले अश्लीलता प्रदर्शन गर्ने भएकाले त्यस्ता गतिविधिमा प्रतिबन्ध लगाउन माग गरिएको थियो । साथै सीमापारबाट ल्याइने नागा बाबाहरूमा सरकारी खर्च रोक्नुपर्ने माग पनि थियो ।
तर सर्वोच्चले प्रतिबन्धको सट्टा उनीहरूलाई निश्चित स्थानमा व्यवस्थित गर्न सकिने सुझाव दिएको छ ।
फैसलामा पाण्डुरंग वामन काणेको धर्मशास्त्रका इतिहास पुस्तकको सन्दर्भ दिँदै नागा बाबाहरूको अभ्यासलाई वैदिक परम्पराअनुरूप मान्यता प्राप्त धार्मिक आचरणको रूपमा व्याख्या गरिएको छ ।








