राज्य व्यवस्था समितिको सभापति बन्न न्यौपानेले दिइन सुनुवाइ समितिबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदका लागि मनोनयन दर्ता गर्न मंगलबार संसदीय सुनुवाइ समितिको सभापतिको पदबाट राजीनामा दिएकी छन् । उनले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएकी हुन् ।
यसअघि मंगलबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको कांग्रेस पदाधिकारी बैठकले न्यौपानेलाई राज्य व्यवस्था समिति सभापतिका लागि अघि सारेको थियो ।
राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले ‘कुलिङ पिरियड’ विवादपछि राजीनामा दिएसँगै उक्त पद रिक्त भएको थियो । उक्त समिति कांग्रेसको भागमा परेको र सुनुवाइ समिति पनि कांग्रेसकै भागमा परेकाले न्यौपानेलाई स्थानान्तरण गरिने निर्णय लिइएको हो ।
सत्ता गठबन्धनको भागबन्डाअनुसार प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले उम्मेदवारी नदिने निर्णय गरेपछि अन्य सांसदले उम्मेदवारी नदिए न्यौपाने सर्वसम्मत रूपमा सभापति चयन हुने संभावना रहेको छ ।
यता, प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त समिति रहेको संसदीय सुनुवाइ समितिको सभापतिमा अब नयाँ अध्यक्ष चयन गर्नुपर्ने प्रक्रिया सुरु हुनेछ ।
सुनुवाइ समितिले संवैधानिक निकायहरूमा सिफारिस भएका पदाधिकारीहरूको योग्यतामाथि छानबिन र साक्षात्कार लिने संवेदनशील जिम्मेवारी वहन गर्छ ।








