किसान सडकमा दूध पोख्न र मलको लाइनमा लाग्न बाध्य हुँदा आत्मनिर्भरता सम्भव छैन : डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारको कृषि नीति र किसानप्रतिको व्यवहारमाथि गम्भीर प्रश्न उठाएका छन् । खेतीपातीको समयमा मल नपाउने, उत्पादनले बजार नपाएर दूध सडकमा पोख्नुपर्ने र उखु किसानले अनुदान तथा भुक्तानीका लागि सधैँ सङ्घर्ष गर्नुपर्ने अवस्थाले देश खाद्यान्नमा आत्मनिर्भर बन्न नसक्ने उनले बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. कोइरालाले सरकारले कृषिलाई प्राथमिकतामा राखेको भनेर भाषणमा र कागजमा मात्रै सीमित राखेको आरोप लगाए । ‘खेतीको बेलामा मल नपाउने, खेतमा हुनुपर्ने बेलामा किसान मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादन भएको दूध सडकमा फाल्नुपर्ने,’ उनले भने, ‘देशको प्रमुख नगदे बाली उखुमा कहिले भुक्तानी नपाउने, कहिले अनुदान कटौती गरिने, अनि हामी कसरी खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौं ?’
डा. कोइरालाले सरकारको नीतिगत असफलता र उदासीनताका कारण किसानहरू पीडामा परेको बताए । आफ्नै पसिनाको कमाइ र सरकारले दिने अनुदानका लागि किसानहरू उखुको बोटसहित सडक आन्दोलनमा उत्रिनुपर्ने अवस्था अत्यन्त दुःखद रहेको उनको भनाइ छ । किसानका जायज मागहरूलाई तत्काल सम्बोधन गर्न र उनीहरूको पीडामा मलम लगाउन डा. कोइरालाले सरकारसँग जोडदार माग गरे । ‘उनीहरूको माग तुरुन्त पूरा गरौं,’ उनले भने ।









