वडा अध्यक्ष जितेन्द्र शाहको पुनर्वहाली रिटमा अन्तरिम आदेश अस्वीकार

काठमाडौं । उच्च अदालत तुलसीपुरले घोराही उपमहानगरपालिका–८ का तत्कालीन वडा अध्यक्ष जितेन्द्र शाहले दायर गरेको पुनर्वहालीसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
शाहको रिटमाथि आज सुनुवाइ गर्दै अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीले तत्काल अन्तरिम आदेश जारी गर्न नमिल्ने ठहर गरेका हुन् ।
साथै, अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा दुवै पक्षबीच छलफल गर्न भदौ १८ गतेका लागि पेशी तोकिएको छ ।
अदालतले घोराही उपमहानगरपालिकालाई १५ दिनभित्र अन्तरिम आदेश किन जारी गर्न नपर्ने हो भन्ने सम्बन्धमा आवश्यक कारण र प्रमाणहरू सरकारी वकिल कार्यालयमार्फत पेश गर्न निर्देशन दिएको छ ।
शाहले २०७९ असार १२ गते नगर प्रमुख नरुलाल चौधरी समक्ष पदबाट राजीनामा बुझाएका थिए । तर, उक्त राजीनामा दुई वर्षपछि मात्रै, २०८१ भदौ २ गते स्वीकृत गरिएको थियो ।
शाहले आफूले दिएको राजीनामा स्वीकृत गर्न ढिलाइ गरिएको र त्यसको वैधानिकता प्रश्न उठाउँदै पुनर्वहालीको मागसहित अदालतमा रिट दायर गरेका थिए ।
अब अदालतले दुवै पक्षको बहसपछि मात्र अन्तरिम आदेश जारी गर्ने न गर्नेबारे निर्णय लिनेछ ।








