मानव सभ्यताले आफ्नो संस्कृति, पहिचान भुल्नु हुँदैन : पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले मानव सभ्यताले आफ्नो संस्कृति, पहिचान भुल्न नहुने बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित सांस्कृतिक र रचनात्मक अर्थतन्त्रको प्रवर्द्धन सम्बन्धी कार्यक्रममा उनले मौलिक संस्कृति र पहिचानतिर फर्केको अवस्थामा मात्रै समाज सभ्य, शान्त र खुसीमा आधारित समाज निर्माण हुने बताए । संस्कृति नै संसारभरि शान्तिको सन्देश फैलाउन सक्ने रणनीति र सामरिकी शक्ति भएको उनको भनाई छ ।

मानव समाज र सभ्यतालाई समुन्नत बनाउन युनेस्को लगायतका संस्थाहरूले प्रयत्न गरिरहेको बताउँदै मन्त्री पाण्डेले भौतिक विकासको होडबाजीले मात्रै मानव सभ्यतालाई शान्त बनाउन नसक्ने बताए । हरेक समुदायमा रहेका संस्कृतिका आयाम र पहिचानको संवेदनशीलतालाई एक अर्को समुदायले बुझेको खण्डमा मात्रै मान्छेले मानवलाई बुझ्ने उनको भनाई छ ।

मन्त्री पाण्डेले पछिल्लो दिनमा नेपालमा गुरुकुलहरूको स्थापना हुन थालेको बताए । यसले हाम्रो ज्ञानको विरासतको खोजी गरिरहेको उनको भनाई छ । पाण्डेका अनुसार विहारहरू सञ्चालन हुन थालेको छ । गुरुकुल र विहारप्रति आकर्षण बढेकोले यसले हाम्रो ज्ञानको अर्को कालखण्डको खोजी, अमूर्त सम्पदाको खोजी, अभौतिक सम्पदाको खोजी गर्ने प्रारम्भ गरेको छ । बिहाबारीमा लगाउने दौरा सुरुवाल कोट, नेवार समुदायले प्रयोग गर्ने हाकुपटासीको प्रचलन अहिले बढ्न थालेको उनले बताए ।

मन्त्री पाण्डेले भने ‘मानव सभ्यताले आफ्नो संस्कृतितिर, पहिचानतिर फर्किनुपर्नेछ । फर्केको अवस्थामा मात्रै हाम्रो समाज सभ्य समाज, फेरि पनि शान्त समाज र खुसीमा आधारित समाज निर्माण हुन सक्छ । संस्कृति नै एउटा यस्तो शक्तिशाली रणनीति हो, संस्कृति नै एउटा सामरिकी हो, जसले संसारभरि शान्तिको सन्देश फैलाउन सक्छ । मानव समाजलाई, मानव सभ्यतालाई समुन्नत बनाउन सक्छ । त्यो बाटोमा जानको लागी युनेस्को लगायतको जुन विश्वव्यापी प्रयत्न छ । त्यो प्रयत्नसँग हामी राष्ट्रहरू जोडिएका छौँ । यसले हामीलाई एउटा सफ्ट पावरको रूपमा, एउटा शक्तिशाली एकता सद्भाव तिर लिएर जानेछ । केबल भौतिक विकासको होडबाजीले मात्रै मानव सभ्यतालाई शान्त बनाउन सक्दैन भन्ने दृश्टान्तहरु देखिएका छन् । त्यसका लागी यी विषयहरू हरेक समाजले, हरेक समुदायले बोकेका संस्कृतिका आयामहरू, अर्कोको सांस्कृतिक आयाम, पहिचानप्रतिको संवेदनशीलताले मान्छेलाई चिन्दछ, बुझ्दछ । मानवलाई बुझ्दछ भन्ने कुरा पनि यो विषयसँग जोडिएका हुन् । पछिल्लो दिनमा नेपालमा पनि यो जागरण देख्छु मैले । पछिल्लो दिन नेपालमा गुरुकुलहरूको स्थापना हुन थालेको छ, यहाँहरूलाई थाहा छ । जसले हाम्रो ज्ञानको विरासतको खोजी गरिरहेको छ । विहारहरू सञ्चालन हुन थालेका छन् । यिनीहरूका प्रति आकर्षण बढेको छ । जसले गर्दा हाम्रो ज्ञानको अर्को कालखण्डको ज्ञानको खोजी, अमूर्त हाम्रो सम्पदाको खोजी, अभौतिक सम्पदाको खोजी त्यसको प्रारम्भ भएको देख्न सकिन्छ । हामी बिस्तारै फर्किन थालेका छौँ । बिहाबारीमा लगाउने दौरा सुरुवाल कोट फेरि हाम्रो भेषभुषामा स्थापित हुन थालेको छ । नेवार समुदायले प्रयोग गर्ने विशेष गरी काठमाडौँका उपत्यकाभित्र प्रयोग गर्ने हाकुपटासीको प्रचलन अहिले बढ्न थालेको छ । ढाकाटोपी पाल्पाको उद्यम, अहिले यो बढ्न थालेको छ । तेह्रथुमको ढाकाटोपीको उद्यम पनि बढ्न थालेको छ । यो कुराले हामीलाई हाम्रा संस्कृतितिर फर्काउने र संस्कृतिलाई एउटा उद्योगतिर जोड्ने गरेको छ ।’

उनले हस्तकलासँग जोडिएका हाम्रो पहिचान, मौलिकतालाई संरक्षण र प्रवर्द्धन गर्दै यसलाई श्रमसँग जोड्नुपर्नेमा जोड दिए । मन्त्री पाण्डेले पाल्पाको र तेह्रथुमको ढाकाटोपीको उद्यम पनि अहिले बढ्न थालेको बताउँदै यसले हामीलाई हाम्रा संस्कृतितिर फर्काउने र संस्कृतिलाई उद्योगतिर जोड्ने काम गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 15 =