संस्कृतिको संरक्षण गर्दै ‘पाँचधारे कला साहित्य केन्द्र’

भोजपुर । परम्परागत मौलिक संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले भोजपुरमा ‘तीज विशेष लोकगीत प्रतियोगिता’ सम्पन्न भएको छ ।

टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा सक्रिय आमा समूहहरूबिच प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा अजम्बरी आमा समूह प्रथम, चिमल गुराँस आमा समूह द्वितीय र सयपत्री आमा समूह तृतीय भएका छन् ।

विजेताले प्रमाणपत्रसहित क्रमशः पाँच हजार, पाँच हजार र दुई हजार प्राप्त गरेका छन् । सहभागी सबै समूहलाई एक–एक हजार सान्त्वना पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

तीजको सांस्कृतिक महत्त्व उजागर गर्दै परम्परागत लोकगीतको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए ।

उनका अनुसार तीजलाई केवल नाचगानमा सीमित नराखी संस्कृति संरक्षण, सामाजिक एकता र महिलाको आत्मविश्वास अभिवृद्धिमा जोड दिनुपर्नेछ ।

कार्यक्रम पाँचधारे कला साहित्य केन्द्र, टेम्केमैयुङ–९, पाँचधारेको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा सात आमा समूहहरूको सहभागिता रहेको थियो ।

प्रथम पुरस्कार धनकुमार मगर र द्वितीय पुरस्कार प्रताप मुस्कानले प्रायोजन गरेका थिए । त्यस्तै कार्यक्रमका लागि स्थानीय विष्णुराज राईले दश हजार सहयोग गरेको साहित्य केन्द्रका सचिव बावुराम शाक्यले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 9 =