राज्य व्यवस्था सभापति चयनमा कांग्रेसको ढिलाइ, सभामुखको दबाब- ‘अब नियम मिच्न मिल्दैन’

काठमाडौं । संसदको महत्त्वपूर्ण मानिने राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन प्रक्रियामा नेपाली कांग्रेसको आन्तरिक अनिर्णयका कारण अल्झिएको छ । सभामुख देवराज घिमिरेले संसदीय नियमावलीको बाध्यात्मक व्यवस्थालाई उद्धृत गर्दै अब थप ढिलाइ गर्न नसकिने र सोमबार निर्वाचन प्रक्रिया सुरु गर्ने अडान लिएका छन् ।
संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा भएको विवादपछि संसदीय छानबिन समितिको निष्कर्षसँगै तत्कालीन सभापति रामहरि खतिवडाले गत साउन २८ गते पदबाट राजीनामा दिएका थिए । त्यसयता नेतृत्वविहीन रहेको समितिमा नयाँ सभापति चयनका लागि सभामुख घिमिरेले कांग्रेसको निर्णय कुरिरहेका छन् ।
सभामुखको सचिवालयका अनुसार, घिमिरेले रिक्त पदपूर्तिका लागि आइतबार नै निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी गरेका थिए। तर, सभापतिका लागि अन्य दलको दाबी नरहेको अवस्थामा कांग्रेसले उम्मेदवारको टुंगो लगाउन नसकेपछि प्रक्रिया रोकिएको थियो ।
सभामुखले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग पटक-पटक संवाद गर्दा पार्टीको पदाधिकारी बैठकले सोमबार बिहान मात्र उम्मेदवार टुंगो लगाउने जवाफ आएपछि सूचना प्रकाशन रोकिएको थियो । ‘आज (सोमबार) बिहान सूचना जारी गर्नैपर्ने नियमावलीको बाध्यात्मक परिस्थिति छ,’ सभामुखले कांग्रेसलाई भने, ‘विगतमा पनि तोकिएको समयमा सभापति चयन हुन नसक्दा राज्य व्यवस्था समितिको बैठक नै बस्न नसकेको गलत नजिर छ, त्यो दोहोर्याउनु हुँदैन ।’
अब सबैको ध्यान सोमबार बिहान बस्ने कांग्रेस पदाधिकारी बैठकमा केन्द्रित भएको छ । बैठकले सभापतिको उम्मेदवारको नाम टुंगो लगाएपछि मात्रै सभामुखले समितिको सभापतिका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउनेछन् ।








