जलवायु परिवर्तनको मुख्य असर श्रमिक र श्रम बजारमा : अध्यक्ष सिम्खडा

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटयुसीसी)का अध्यक्ष जगतबहादुर सिम्खडाले जलवायु परिवर्तनको मुख्य असर श्रमिक र श्रमबजारमा परेको बताएका छन् ।
जेटियुसीसीको आयोजनामा आईतवार काठमाडौंमा भएको नेपालमा जलवायु परिवर्तनको प्रभाव, न्यायोचित रुपान्तरण र लैंगिक सवालहरु विषयक छलफलमा उनले यस्तो बताएका हुन् ।
उनले पछिल्लो ४÷५ वर्षदेखि नेपालमा जलवायु परिवर्तनको असर देखिन थालेको बताए । कार्वन उत्सर्जनमा भुमिका नभएका अविकसित र विकासोन्मुख देशहरु नै सबैभन्दा बढी जलवायु परिवर्तनको समस्यामा परेको उनको भनाई छ ।
उनले आईएलओ, आईएलसीको महासभामा आफूले यसलाई अपराध भनेर चित्रण गरेको पनि उल्लेख गरे ।
जलवायु परिवर्तनको जोखिमको हिसावले नेपाल छैठौँ नम्बरमा रहेको उनको भनाई छ । यसले कामका प्रकृतिहरु पनि फेरिँदै गएकोले श्रमिक वर्ग समस्यामा परेको उनले बताए ।
नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन विस्थापित भएर विद्युतीय सवारी साधन भित्रिदाँ कयौँ मिस्त्रीहरु बेरोजगार हुने अवस्थामा पुगेको उनले जानकारी दिए ।
सबैभन्दा बढी जलवायु परिवर्तनको असर श्रमजीवि वर्ग, गरिब, उत्पीडित वर्ग, क्षेत्र, लिङ्गमा परेको उहाँको भनाई छ ।
जलवायु परिवर्तनको असर श्रमिकमा परेको सम्बन्धमा जेटयुसीसीले गम्भीर भएर नीति निर्माणमा ध्यान दिने पनि उनले बताए ।








