प्रधानाध्यापक पदलाई ‘ब्युटिफुल’ बनाउन सुविधामा कन्जुस्याइँ नगरौँ : रेखा शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले प्रधानाध्यापकलाई राष्ट्रसेवक कर्मचारीको सबैभन्दा माथिल्लो तह सरहको सेवा सुविधा दिने व्यवस्था शिक्षा विधेयकमा नै स्पष्ट रूपमा लेखिनुपर्ने माग गरेकी छन् । उनले ‘तोकिएबमोजिम’ भन्ने अस्पष्ट शब्दले प्रधानाध्यापक पदको गरिमा र आकर्षण नबढ्ने बताइन् । बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले प्रधानाध्यापकको छनोट प्रदेश स्तरबाट गर्ने कुरा राम्रो भए पनि उनीहरूको सेवा सुविधाबारे विधेयक मौन रहन नहुनेमा जोड दिइन् । ‘प्रधानाध्यापकको थप सेवा सुविधा उल्लेख गर्न सकेनौँ । यसमा हामीले तोकेबमोजिम हुनेछ त भन्यौँ,’ उनले भनिन्, ‘तर तोकेबमोजिम हुनेछ भन्दा तीन सय, पाँच सय रुपैयाँ दिएर प्रधानाध्यापकलाई जसरी ब्युटिफुल बनाउन खोज्दैछौँ, त्यो उद्देश्य हाम्रो पूर्ति हुँदैन ।’

उनले विधेयकमा रकम नै किटान गर्न नसकिए पनि सुविधाको स्तरबारे स्पष्ट लेख्न सकिने सुझाव दिइन् । ‘प्रधानाध्यापकमा रहुन्जेल नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीहरुको सबैभन्दा माथिल्लो तह कुन हो ? त्यो तहको सेवा सुविधा दिइनेछ भन्ने विषय भएपनि कतै उल्लेख गर्नुपर्छ,’ उनले भनिन् ।

यसका साथै, सांसद शर्माले प्रधानाध्यापकलाई महासंघ जस्ता निकायमा आबद्ध हुन नदिने प्रावधानको भने समर्थन गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =