नेता गिरी अध्ययनशील व्यक्ति हुन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका स्व नेता प्रदीप गिरी अध्ययनशील नेता भएको बताएका छन् ।
कांग्रेसका समाजवादी चिन्तक स्व प्रदीप गिरीको स्मृतिमा आज आयोजित कार्यक्रममा उनले स्व गिरी कांग्रेसमा विद्वान नेता भएको बताए ।
सभापति देउवाले भने, ‘प्रदिपजीलाई मैले भारतको बनारसमा चिनेको हुँ, पछि उहाँ र म जेलमा पनि सँगै थियौँ । उहाँ धेरै पढ्ने मान्छे । रातभरी किताब पढ्न सक्ने व्यक्ति हो ।’
दुर्भाग्यले नेता गिरी चाँडै सबैलाई छोडेर जानुभएको उल्लेख गर्दै उनले अन्तिम समयमा आफूले भेटेको स्मरण गरे । सभापति देउवाले नेता गिरीले छोडेर गएका बाँकी काम सबैले मिलेर पूरा गर्नुपर्ने उल्लेख गरे ।
सभापति देउवाले जनताको मन जित्नेगरी काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘जनता भनेका सार्वभौमसत्ता सम्पन्न हुन् । जनता मालिक हुन र जनताभन्दा ठूलो कोही छैन ।’
कतिपयले आफूलार्ई कति पटक प्रधानमन्त्री भएको होला भन्ने गरेकोप्रति लक्षित गर्दै उहाँले जनताले भोट दिएको, पार्टीका साथीभाइले सहयोग गरेको र अन्य पार्टीका साथीले पनि सहयोग गरेका कारण आफू प्रधानमन्त्री हुँदै आएको बताए । सभापति देउवाले भने, ‘म शौभाग्यशाली व्यक्ति पनि हुँ, सधैँ प्रत्यक्षमा निर्वाचन लडेँ, जनताले भोट दिएर जिताए, कहिले पनि हारेको छैन ।’
कार्यक्रममा नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेता गिरी बिपी कोइरालासँग विद्रोह गर्नसक्ने युवाका रुपमा आफूले चिनेको बताए ।
उनले कुनै पनि सैद्धान्तिक आधार नभएका तथा उद्देश्य र गन्तव्य नभएका केही दलहरूले पछिल्लो समय पुराना पार्टी र पुरानो नेतृत्व काम लाग्दैन भन्ने भाष्य निर्माण गर्न खोजेको टिप्पणी गर्दै दलहरू कहिल्यै पुराना नहुने जिकिर गरे ।
नेकपा (माओवादी)का उपमहासचिव वर्षमान पुनले आफूहरूले कार्लमाक्र्सका बारेमा पढाउन सक्ने क्षमता भएका नेताका रुपमा प्रदीप गिरीलाई चिनेको बताउँदै उनका लेख र किताबबाट आफू प्रभावित भएको स्मरण गरे । उनले स्व गिरीको निष्ठा र नैतिकता अहिलेको राजनीतिमा झनै सान्दर्भिक भएको उल्लेख गरे ।
नेकपा (एकीकृत समाजवादी)का महासचिव डा घनश्याम भुसालले स्व नेता गिरी एसियामा माक्र्सका विचार र विचारको प्रभावका बारेमा बुझेका कमै मानिसमा पर्ने व्यक्तित्व भएको उल्लेख गरे ।
साथै उनले नेता गिरी पाखण्डबिनाको सच्चा समाजवादी नेता भएको र उनलाई आफूले जे बोल्यो त्यही जीवनमा आत्मसात गर्ने नेताका रुपमा आफूले चिनेको बताए । अहिलेको राजनीतिमा नेता गिरी जस्तो नेताको खडेरी रहेको उनको भनाइ थियो ।
जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रेखा यादवले स्व गिरी मधेसका भावना बुझ्ने र फराकिलो राजनीतिक विचार भएका बिर्सन नसकिने नेता भएको बताइन् ।
कांग्रेसको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले उनलाई फराकिलो र बृहत् राजनीतिक दृष्टिकोण भएका नेताका रुपमा चित्रित गर्दै नेपालको राजनीतिमा उनको योगदान तथा विचार सदैव स्मरणीय रहिरहने उल्लेख गरे ।
पार्टीका केन्द्रीय सदस्य एवं आयोजक स्कुल अफ डिमोक्रेसीका अध्यक्ष नैनसिंह महरले स्व नेता गिरीको सँगाल्नु भएको नैतिकताको बाटो अहिले राजनीतिमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।
स्व नेता गिरीका धर्मपत्नी भारती सिलवालले उनी गान्धी, अम्बेडकर, लोहिया जस्ता राजनीतिक चिन्तकबाट प्रभावित बहुआयामिक व्यक्तित्व र दर्शनमा गहिरो ज्ञान भएको कुशल राजनीतिक चिन्तक भएको बताए ।








