उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी, एमाले सांसदको हस्ताक्षर संकलन

काठमाडौं । सत्तारुढ नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्तावको तयारी थालेको छ ।
यसका लागि एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सांसदहरूको हस्ताक्षर संकलन धमाधम भइरहेको छ ।
एमालेले मंगलबार बिहान आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको थियो । ‘जरुरी र महत्त्वपूर्ण विषयमा छलफल’ भन्दै बोलाइएका सांसदहरूलाई हस्ताक्षर गर्न भनिएको एक सांसदले जानकारी दिएका छन् ।
यसैबीच प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई मंगलबार दिउँसो १२ बजेसम्म संसदीय दलको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । कांग्रेसको पदाधिकारी बैठक अहिले पनि जारी रहेको स्रोतको भनाइ छ ।
उपसभामुख रानामगरले आफूसहित पाँच जनाको भिसा अन्तर्वार्ताका लागि अमेरिकी दूतावासलाई पत्र लेखेको विषयलाई लिएर उनीविरुद्ध सत्ता गठबन्धनले आक्रोश पोख्दै आएको छ । सो पत्रमार्फत उनले आफ्नो पदीय मर्यादा उल्लंघन गरेको भन्दै गठबन्धनले उनको नैतिकतामाथि प्रश्न उठाएको छ ।
रानामगर संविधानतः संवैधानिक परिषद्को सदस्य पनि हुन् । हाल परिषदमा कांग्रेसको प्रतिनिधित्व नरहेकाले सत्ता पक्षले रानालाई हटाउने प्रयास यसअघि पनि गरेको थियो ।








