श्रीकृष्ण भक्ति र उल्लासको रौनक (तस्बिरहरू)

काठमाडौं । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्मोत्सव, ‘श्रीकृष्ण जन्माष्टमी’, आज देशभरि श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ । द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा मथुरामा अवतरित श्रीकृष्णको पूजा–आराधना गर्न बिहानैदेखि देशभरका कृष्ण मन्दिरहरूमा श्रद्धालुहरूको घुइँचो लागेको छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवताको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । उहाँले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । पौराणिक ग्रन्थहरूमा उहाँले कंश, जरासन्ध र शिशुपालजस्ता आसुरी शक्तिको संहार गरी धर्मको पुनःस्थापना गर्नुभएको वर्णन पाइन्छ । आजको रातलाई ‘मोहरात्रि’ का रूपमा पनि लिइन्छ, जसले अज्ञान र अन्धकारमाथि ज्ञानको विजयको प्रतीकका रूपमा विशेष महत्त्व राख्छ ।
यस अवसरमा कृष्णभक्तहरू, विशेषगरी महिलाहरू, दिनभर व्रत बसी रातभर जाग्राम बस्ने, भजनकीर्तन गर्ने तथा श्रीकृष्णको आराधना गर्ने गर्दछन् । जन्माष्टमीको अवसरमा ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको विशाल मेला लागेको छ ।
त्यसैगरी, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-८ मा अवस्थित श्रीनवतनधाममा पनि श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको छ, जहाँ विशेष पूजाआजा र भजनकीर्तन भइरहेको छ । राजधानीको उत्तरी भेग बूढानीलकण्ठस्थित इस्कन मन्दिर लगायत देशभरका अन्य कृष्ण मन्दिरहरूमा पनि भक्तिभावका साथ पूजा–आराधना चलिरहेको छ ।
भगवान् श्रीकृष्णले कुरुक्षेत्रको युद्धभूमिमा अर्जुनलाई दिनुभएको उपदेश ‘श्रीमद्भागवतगीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मात्र नभई सम्पूर्ण मानव समुदायका लागि जीवनदर्शनको स्रोत मानिन्छ । विश्वका सर्वाधिक भाषामा अनुवादित ग्रन्थमध्ये एक मानिने गीताले सत्य र सत्कर्मको मार्गमा हिँड्न प्रेरित गर्दछ । यस उपलक्ष्यमा राजधानीका विभिन्न स्थानमा श्रीकृष्णको जीवनलीला झल्किने झाँकीसहित शोभायात्रा र रथयात्रा निकाल्ने तयारी पनि गरिएको छ, जसले जन्माष्टमी पर्वको रौनकलाई थप बढाएको छ ।

- तस्बिरहरू कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित श्रीनवतमधाममा श्रद्धालुका हुन् ।








