हतारमा काम गर्दा सबै सांसदहरू बेकुफ भयौँ : सांसद कार्की

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले हतारमा कुनैपनि विधेयक अघि बढाइनु नहुने बताएकी छन् ।
सिंहदरबारमा शुक्रवार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले हतारमा काम गर्दा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले राजीनामा दिएको स्मरण गर्दै कुनै काम हतारमा गरेर पछुताउनु नहुने बताए ।
विधेयकहरू राम्रोसँग बुझेर मात्रै अघि बढाउनुपर्ने उनको भनाइ छ । हतारमा काम गर्दा संसदका सबै सांसदहरू बेकुफ भएको घटना ताजै रहेको उनको भनाइ छ ।
उनले भनिन् ‘म त्यत्ति इन्टेलिजेन्स नभएर होला, तुरुन्तै अहिले ह्वारर पढेको आधारमा फिडब्याक दिन सक्दिन । हालैको अनुभव पनि छ । हतारको काममा लतार भएर एक जना सभापतिज्यूले राजीनामा दिनुपर्यो । त्यसैले हामीले धेरै सोच्नुपर्छ । त्यत्रो सदनमा हामी सबै सांसदहरू त बेकुफ नै भयौँ नि त । सबैले थपडी मारेर पास गयौँ, तर त्यसको नतिजा के आयो बुझेकै छौँ ।’
सांसद कार्कीले सदनमा र समितिमा छलफल राम्रोसँग गरेर मात्रै विधेयकहरू अघि बढाउनु उचित हुने सुझाव दिइन् ।








