विदेश मोह त्याग्न प्रचण्डको आह्वान, भने- ‘सृजनात्मक कामले देशमै अवसर छ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई आत्मनिर्भर बनाउन आयातित मोडेलको नक्कल गर्नुको साटो स्थानीय स्तरमै रहेका सम्भावनाहरूको सृजनात्मक उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । विदेश मोहको संस्कृतिले राष्ट्रिय विकासमा बाधा पुऱ्याएको औँल्याउँदै उनले देशभित्रै रोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्रको आधार तयार गर्न सबैलाई आह्वान गरेका हुन् ।
शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालको मौलिक विकासको मार्गचित्र आफ्नै प्राकृतिक स्रोत, साधन र गौरवशाली इतिहासबाट कोर्न सकिने बताए । उनले भने, ‘स्थानीय स्तरबाटै सृजनात्मक ढङ्गले सम्भावनाको सदुपयोग गर्यौँ भने देश आत्मनिर्भर हुन समय लाग्दैन ।’
अध्यक्ष प्रचण्डले देश विकासका लागि सकारात्मक मानसिकता निर्माण गर्नु आजको प्रमुख चुनौती रहेको बताए । ‘देशभित्रै अपार सम्भावना छ । हाम्रो इतिहास, संस्कृति, जाति, भाषा र परम्पराप्रति गर्व गर्ने मानसिकताको विकास नै आजको आवश्यकता हो,’ उनले भने, ‘सकारात्मक सोच्ने र रचनात्मक कामलाई अघि बढाउने हो भने विदेश जाने संस्कृतिलाई स्वतः निरुत्साहित गर्न सकिन्छ ।’
विदेशी मोडेलको अन्धानुकरण गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसलाई ‘दुर्भाग्यपूर्ण’ को संज्ञा दिएका छन् । ‘देशमा राष्ट्रिय अर्थतन्त्रको मोडल विकास गर्नुको साटो विदेश जाने र नक्कल गर्ने हाम्रोमा प्रचलन छ, यो दुर्भाग्य हो,’ प्रचण्डले भने ।








