चार स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, अधिकांश हाडजोर्नी विशेषज्ञ

काठमाडौं । देशका चार महत्त्वपूर्ण स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले नयाँ नेतृत्व पाएका छन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न प्रतिष्ठानका लागि उपकुलपति नियुक्त गरेका हुन् ।
नियुक्ति पाउनेहरूमा अधिकांश वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञहरू रहेका छन् । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. बुद्धिप्रसाद पौडेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. भरतबहादुर खत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. पूजनकुमार रोकाया उपकुलपतिमा नियुक्त भएका छन् ।
को हुन् नवनियुक्त उपकुलपतिहरू ?
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपतिमा नियुक्त भएका प्रा.डा. श्रेष्ठ एक अनुभवी हाडजोर्नी तथा नशारोग विशेषज्ञ हुन् । लामो समयदेखि सोही प्रतिष्ठानमा सेवारत उनले यसअघि अर्थोपेडिक्स विभागको प्रमुख तथा प्रतिष्ठानको रेक्टर जस्तो महत्त्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन् । उनको ‘मस्कुलोस्केलेटल डिस्अर्डर’ अर्थात् हाडजोर्नी तथा मांशपेशीसम्बन्धी समस्याको उपचारमा विशेष दख्खल रहेको मानिन्छ ।
यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्व सम्हाल्न आइपुगेका प्रा.डा. खत्री पनि हाडजोर्नी विशेषज्ञ हुन् । उनले सोही प्रतिष्ठानमा चार वर्षसम्म अस्पताल निर्देशकको जिम्मेवारी सम्हालेर आफ्नो प्रशासनिक क्षमता र नेतृत्व कौशल देखाइसकेका छन् । उनको कार्यकालमा अस्पतालमा विभिन्न नयाँ सेवाहरू विस्तार हुनुका साथै समग्र व्यवस्थापनमा उल्लेख्य सुधार भएको थियो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बनेका डा. रोकाया दुर्गम क्षेत्रमा सेवाको पर्याय मानिन्छन् । विगत १२ वर्षदेखि जुम्लामा रहेर हाडजोर्नी तथा नशा रोग विशेषज्ञका रूपमा सेवा प्रदान गरिरहेका उनले उच्च अध्ययन (जर्मनीबाट समेत थप तालिम) पछि सुविधासम्पन्न सहरभन्दा आफ्नै जन्मथलोको सेवा रोजेका थिए । उनको योगदान जुम्लामा मात्र सीमित छैन, उनले हुम्ला, मुगु, कालिकोट र डोल्पा जस्ता विकट जिल्लाहरूमा समेत विशेषज्ञ सेवा विस्तार गरेर प्रशंसा कमाएका छन् । उनले यसअघि प्रतिष्ठानको अस्पताल निर्देशकको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त प्रा.डा. पौडेल भने वरिष्ठ आन्तरिक चिकित्सा (इन्टरनल मेडिसिन) विशेषज्ञ तथा नेपालका अग्रणी बाथरोग विशेषज्ञ (र्युमटोलोजिस्ट) हुन् । त्रिभुवन विश्वविद्यालयबाट गोल्ड मेडलसहित एमबीबीएस र एमडी गरेका उनले क्यानडा र इटालीका प्रतिष्ठित विश्वविद्यालयबाट ‘फेलोशिप’ समेत गरेका छन् । नेपालमै पहिलो पटक दुई वर्षे ‘र्युमटोलोजी फेलोशिप’ कार्यक्रम सुरु गरेर उनले यस विधामा नयाँ जनशक्ति उत्पादनमा महत्त्वपूर्ण योगदान दिएका छन् ।
साथै, उनको विशेष पहलमा ‘लाइफ फर अ चाइल्ड’ कार्यक्रममार्फत सयौँ ‘टाइप १’ मधुमेह पीडित बालबालिकाले निःशुल्क उपचारको सुविधा पाइरहेका छन् । तीन दशकभन्दा लामो सेवा अवधिमा पाटन अस्पतालमा मेडिकल अफिसरबाट प्रवेश गरेका उनी अन्ततः सोही संस्थाको सर्वोच्च पदमा पुग्न सफल भएका छन् ।









