सूचना प्रविधिको क्षेत्रको व्यवस्थापन तथा साइबर अपराध नियन्त्रण गर्न विधेयक आवश्यक : सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रको व्यवस्थापन तथा साइबर अपराध नियन्त्रण गर्नको लागि सूचना प्रविधि तथा साइबर क्राइम विधेयक ल्याइएको बताएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उक्त विधेयकले सामाजिक सञ्जाल तथा डिजिटल मिडियाहरूको लागि नभएको समेत मन्त्री गुरुङले स्पष्ट पारे ।
उनले सामाजिक सञ्जालको सञ्चालन तथा नियमनका लागि सरकारले छुट्टै विधेयक राष्ट्रिय सभामा दर्ता गराइसकेको समेत जानकारी दिए । उनले प्रविधिको वरदान मात्र नभई प्रयोग गर्न नजानेको अवस्थामा अभिसाप समेत हुने भएको कारण त्यसको व्यवस्थापनको लागि विधेयक ल्याइएको उल्लेख गरे ।
उनले विकास निर्माणका कार्यहरूमा समेत प्रविधिको प्रयोगलाई बढवा दिने सरकारको उद्देश्य रहेको स्पष्ट पारे । उनले पछिल्लो समय संयुक्त राष्ट्र संघले इन्टरनेट सेवा नागरिकको मौलिक हकको रूपमा पारित गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयनको लागि समेत विधेयक महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
उनले भने ‘यो विधेयक आइटी क्षेत्रको व्यवस्थापन र साइबर क्राइमलाई नियन्त्रण र नियमन गर्नको लागि ल्याइएको हो । सोसल मिडिया र डिजिटल मिडिया सञ्चालन र प्रयोगकर्ताको नियमन कसरी गर्ने भन्ने विधेयक धेरै अगाडि नै राष्ट्रिय सभामा पेस भइसकेको छ । त्यो अहिलेसम्म सैद्धान्तिक छलफलमा आएको छैन । सामाजिक सञ्जालसम्बन्धी धेरै कुराहरू त्यो विधेयकले पनि समेटेको छ । अहिले इन्टरनेट नागरिकको मौलिक अधिकार भएको छ । नेपालको संविधानले इन्टरनेल नेपाली जनताको मौलिक अधिकार नभनेपनि संयुक्त राष्ट्र संघले नै पारित गरिसकेपछि त्यो हाम्रो दायित्वको विषय भएको छ । त्यसको समाधानको लागि पनि हामीले यो विधेयक ल्याउनुपर्ने थियो । मुलुकमा सुशासन कायम गर्नको लागि समेत सूचना प्रविधि र टेलिकमको अधिकतम प्रयोग गर भनिएको छ ।’
मन्त्री गुरुङले मुलुकमा सुशासन कायम गर्न सूचना प्रविधि र टेलिकमको अधिकतम प्रयोग गर्नुपर्ने आवश्यकता रहेको पनि औँल्याए ।








