पशुपति आर्यघाटमा जलिरहेको शवबाट निकालियो हड्डी र मासु, दुई जना पक्राउ

काठमाडौं । पशुपति आर्यघाटमा दाहसंस्कारका लागि राखिएको शवको हड्डी र मासु चोरी गरी बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त, गौशालाको टोलीले शव जलाउने काममा संलग्न गणेश ढकाल र उनका एक सहयोगीलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार, गत शुक्रबार काभ्रेका रामबहादुर शाहीको शव दाहसंस्कार गरिँदै गर्दा उक्त घटना भएको हो ।

मृतक शाहीका परिवारजनले ढकाललाई जलिरहेको शवबाट मासु र हड्डी निकालेर प्याक गर्न लगाइरहेको अवस्थामा रंगेहात समातेका थिए । घटनापछि परिवार र आरोपीहरूबीच भनाभन भएको र तत्कालै प्रहरीलाई खबर गरिएको थियो । सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको र आरोपीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

गौशाला प्रहरी वृत्तका सूचना अधिकारी, प्रहरी नायब निरीक्षक (सई) सुकदेव खनालका अनुसार घटनाको प्रकृति अत्यन्तै संवेदनशील र दुर्लभ छ । ‘शव जलाउने क्रममा मासु र हड्डी प्याक गर्ने कार्य देखेपछि मृतकका आफन्तले हामीलाई जानकारी दिनुभयो,’ उनले भने, ‘पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाइएको छ ।’

खनालका अनुसार, प्रारम्भिक अनुसन्धानमा ढकालले शवबाट निकालिएको हड्डी र मासु ५ सय रुपैयाँमा बिक्री गर्ने योजना बनाएको र त्यसमा ४ सय रुपैयाँ आफू राख्ने तथा बाँकी १ सय रुपैयाँ सहयोगी मैनाली थरका व्यक्तिलाई दिने सहमति भएको खुलेको छ ।

हालसम्म शवको अंग चोरी तथा बिक्रीसम्बन्धी प्रस्ट कानुनी व्यवस्था नहुँदा अनुसन्धान र कारबाहीमा चुनौती देखिएको प्रहरीको भनाइ छ । तैपनि, प्रहरीले दुवै आरोपितमाथि ‘अभद्र व्यवहार’ मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =