कोशीका प्रमुख शहर धरान र इटहरीमा ‘बजेट होलिडे’: राजनीतिक खिचातानीले विकास र सेवा ठप्प

विराटनगर । नयाँ आर्थिक वर्ष सुरु भएको एक महिना बितिसक्दा पनि कोशी प्रदेशका दुई प्रमुख उपमहानगरपालिका, इटहरी र धरान, ‘बजेट होलिडे’ को चपेटामा परेका छन्। राजनीतिक खिचातानी र नेतृत्वबीचको असमझदारीका कारण बजेट पारित हुन नसक्दा यी शहरहरूमा विकास निर्माण र नागरिक सेवा ठप्प भएका छन्, जसले स्थानीय सरकारको आर्थिक अनुशासन र विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

कानुनअनुसार असार मसान्तभित्रै बजेट पारित गर्नुपर्नेमा दुवै उपमहानगर चुकेका छन् । इटहरीमा मेयर हेमकर्ण पौडेल र एमाले निकट कार्यपालिका सदस्यबीच विवाद छ। खर्चको विवरण समेटिएको अनुसूचीविना नै बजेट पारित गर्न खोजिएपछि विवाद चर्किएको हो। उपप्रमुख संगीता चौधरीका अनुसार, खर्चको विवरण स्पष्ट नहुँदा बजेट दुरुपयोग हुन सक्ने भन्दै कार्यपालिका सदस्यहरूले असहमति जनाएका थिए। इटहरीले यो वर्षका लागि २ अर्ब ५५ करोडको बजेट प्रस्ताव गरेको छ।

उता, धरानमा पनि स्वतन्त्र मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाबीच श्रमदानसम्बन्धी विवादका कारण उत्पन्न असहमतिका कारण बजेट प्रक्रिया अवरुद्ध बनेको हो। बजेट अभावमा दुवै शहरमा कर्मचारीको तलब, योजनाको भुक्तानी र अन्य प्रशासनिक खर्च रोकिएको छ।

प्रदेशको एकमात्र महानगर विराटनगरलगायत अन्य पालिकाहरूले बजेट कार्यान्वयनमा लगिसकेको अवस्थामा प्रदेशका मुख्य आर्थिक केन्द्र मानिने दुई ठूला शहर पछि पर्नुलाई चिन्ताको विषय मानिएको छ। विश्लेषकहरूले यसलाई जनप्रतिनिधिको व्यक्तिगत इगो र दलगत टकरावले जनताको विकासको आकांक्षामाथि पारेको प्रत्यक्ष असरको रूपमा टिप्पणी गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seventeen =