गणतन्त्र पूर्ण असफल भयो, अब राजा फर्काउनुको विकल्प छैन : धवलशमशेर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर जबराले संघीयता र गणतन्त्र पूर्ण रूपमा असफल भएको निष्कर्ष निकाल्दै अब देशलाई बचाउन राजसंस्था र हिन्दु अधिराज्य पुनर्स्थापना गर्नुको विकल्प नरहेको उद्घोष गरे ।

उनले देश भ्रष्टाचारको दलदलमा फसेको, गरिबी बढेको र जनतामा चरम निराशा छाएको बताए । ‘यो गणतन्त्र व्यवस्था र संघीयता पूर्ण रूपले असफल भइसकेको छ,’ महामन्त्री जबराले भने, ‘राष्ट्र झनझन गरिबीको रेखामुनि र भ्रष्टाचारको दलदलमा फस्दै गइरहेको छ । जनता पूर्ण रूपमा निराश छन् । नेपालीको भाग्य र भरोसा अर्काको देशमा गएर नोकर हुनुबाहेक अर्को विकल्प छैन जस्तो देखिएको छ ।’

उनले यो असफल संरचनालाई फालेर ‘राजासहितको प्रजातन्त्र’ र ‘सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य’ स्थापनाका लागि राप्रपाले अगुवाइ गरिरहेको बताए । जनताले विस्तारै वर्तमान व्यवस्था असफल भएको महसुस गरिरहेको दाबी गर्दै उनले अब व्यवस्था परिवर्तनका लागि जनताले मन बनाइसकेको जिकिर गरे ।

महामन्त्री जबराले राजावादी र हिन्दुवादी शक्तिहरूको उभार देखेर राज्य डराएको र गलत मुद्दा लगाएर आवाज दबाउन खोजेको आरोपसमेत लगाए । उनले भने, ‘राज्य तर्सेर, डराएर राजावादी, हिन्दुवादी, राष्ट्रवादी सोच दबाउनका लागि गलत मुद्दा लगाउने र धम्क्याउने प्रयासमा लागेको छ । तर, यो प्रयास सफल हुँदैन ।’

सयौँ राजाभन्दा एक संवैधानिक राजा नेपाली जनताले चाहेको भन्दै उनले अब चुप लागेर बस्ने स्थिति नरहेको बताए । बर्खा सकिएपछि सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एकसाथ भएर अघि बढ्ने योजना रहेको पनि उनले खुलासा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =