अमेरिकी सैन्य शिविरमा गोली चल्दा ५ घाइते, आक्रमणकारी सैनिक नियन्त्रणमा

काठमाडौं । सर्वाधिक सुरक्षित मानिने अमेरिकी सैन्य अखडाभित्रै एक सैनिकले आफ्ना सहकर्मीमाथि अन्धाधुन्ध गोली चलाउँदा पाँच जना घाइते भएका छन् । अमेरिकाको जर्जिया राज्यस्थित फोर्ट स्ट्युवार्ट सैन्य शिविरमा बुधबार भएको यो घटनाले अमेरिकी सैन्य संस्थाभित्रको सुरक्षा व्यवस्थामाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।
सर्जेन्ट पदमा कार्यरत २८ वर्षीय कोर्नेलियस र्याडफोर्डले शिविरमा उपलब्ध गराइएको बन्दुक नभई आफ्नो व्यक्तिगत हतियार प्रयोग गरी आक्रमण गरेका थिए । आक्रमणको उद्देश्य अझै खुल्न सकेको छैन, तर घटनालगत्तै उनलाई नियन्त्रणमा लिइएको शिविरका कमाण्डर ब्रिगेडियर जनरल जोन लुबासले जानकारी दिएका छन् । घाइते पाँचै जनाको अवस्था स्थिर रहेको र तीन जनाको शल्यक्रिया गरिएको सेनाले जनाएको छ ।
कमाण्डर लुबासले अन्य सैनिकहरूको बहादुरीको प्रशंसा गर्दै उनीहरूले तत्काल आक्रमणकारीलाई नियन्त्रणमा लिएर थप क्षति हुनबाट जोगाएको बताए । ‘उनीहरूको साहस प्रशंसनीय छ,’ उनले भने । घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणकारीलाई ‘घृणित व्यक्ति’ को संज्ञा दिएका छन् भने संघीय अनुसन्धान ब्युरो (एफबीआई) पनि अनुसन्धानमा संलग्न भएको छ ।
को हुन् आक्रमणकारी र्याडफोर्ड ?
सन् २०१८ मा अमेरिकी सेनामा भर्ना भएका र्याडफोर्ड ‘सप्लाई सर्जेन्ट’ थिए र हालसम्म कुनै विदेशी मिसनमा गएका थिएनन् । तर, उनीमाथि यसअघि पनि आपराधिक आरोप लागेको थियो । गत मे महिनामा उनलाई मदिरा सेवन गरी तीव्र गतिमा गाडी चलाएको आरोपमा पक्राउ गरी धरौटीमा रिहा गरिएको थियो ।
सैन्य शिविरहरूलाई सामान्यतया सर्वाधिक सुरक्षित स्थान मानिए पनि यस्ता घटना दोहोरिनुले अमेरिकी सेनाभित्र गहिरो चिन्ता पैदा गरेको छ । यसअघि सन् २००९ मा टेक्सासको फोर्ट हुडमा एक सैन्य चिकित्सकले गोली चलाउँदा १३ जनाको मृत्यु भएको थियो भने २०१३ मा वाशिङ्गटन नेभी यार्डमा भएको गोलीकाण्डमा १२ जनाले ज्यान गुमाएका थिए । यस्ता घटनाको शृङ्खलाले सैन्य संस्थाहरूभित्रको सुरक्षा र सैनिकहरूको मानसिक स्वास्थ्यमाथिको बहसलाई पुनः सतहमा ल्याएको छ ।
फोर्ट स्ट्युवार्ट अमेरिकाको पूर्वी क्षेत्रको सबैभन्दा ठूलो सैन्य शिविर हो, जहाँ हजारौँ सैनिक र उनीहरूका परिवार बसोबास गर्छन् । सेनाले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ ।








