अज्ञात रोगबाट चरीगाउँका पशुचौपाया मरे

अदानचुली । जिल्लाको मध्यभेकमा रहेको चङ्खेली गाउँपालिका–६ स्थित चरी गाउँमा अज्ञात रोगका कारण पशुचौपाया मर्न थालेका छन् । दुई सातादेखि फैलिएको अज्ञात रोगले ६० भन्दा धेरै पशुचौपाया मरिसकेका छन् ।

अचानक पशुचौपायाको पेट सुनिने, छाती सुनिने, दिसा गर्न नसक्ने, घाँस नखाने, र्‍याल छाड्ने, दिसापिसावमा रगत देखिने लक्षणसहितको रोगले अहिलेसम्म चरीगाउँको लामालेखमा १०, जुम्खेलामा ११, क्षेल्दुममा १०, मुन्खेतीमा छ, धुन्देउमा आठ, रातामाटामा नौ र लाङ्गोरमा पाँच वटाभन्दा धेरै गाई, गोरु र बाच्छासमेत मरेका चङ्खेली गाउँपालिका–६ चरीगाउँका प्रमसिंह सिराले बताए ।

अज्ञात रोग फैलिएकाले अहिलेसम्म चङ्खेली गाउँपालिकाको चरीगाउँका किसानका ६० भन्दाबढी पशुचौपाया मरेपछि यहाँका किसानलाई ठूलो क्षति पुगेको छ ।

खेतबारी जोत्नका लागि एक हल गोरु जोगाउन पनि धौधौ भएको किसानको भनाइ छ । यो समयमा अधिकांश किसानका पशुचौपाया अहिले लेकतिरको खर्क लिने समय भएकाले पनि लेखमा पशुचौपाया मरेका सिराले बताए ।

अज्ञात महमारीले पशुचौपाया मर्न थालेपछि लेकतिरको जङ्गलसमेत दुगन्धित भएको छ । खर्कहरूबाट गाउँघरमा पशु बिरामी भएको खबर आएलगत्तै चङ्खेली गाउँपालिकाको पशु शाखामा औषधिका लागि हप्ता दिन धाउँदा स्वास्थ्यकर्मी नभएको र पशुशाखाको ढोका चौबिसै घण्टा बन्दहुँदा रित्तो हात लिएर फर्किनुपरेको सिराले बताए ।

गाउँपालिकामा खबर गर्दासमेत औषधि छैन भन्दै कुनै पनि सुनुवाइ नभएको सिराले बताए । चालु आर्थिक वर्ष सुरू भएको समयदेखि गाउँपालिकाबाट बाहिरिएका पशु स्वास्थ्यकर्मी गाउँमा नभएपछि बिरामी परेका पशुचौपायालाई तत्काल उपचार गर्ने व्यवस्था नभएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 7 =