पाथीभरामा केबलकार निर्माण गर्न आवश्यक छैन : एकीकृत समाजवादी सांसद तिमिल्सिना

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमिल्सिनाले पाथीभरामा केबलकार निर्माण गर्न दिन नहुने बताएकी छन् ।

बुधवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले पाथीभरामा केबलकार निर्माण गर्न सरकारले निकुञ्जको पनि प्रयोग गर्न दिएको र यस्ता कुराहरू रोक्नुपर्ने बताइन् ।

उनले आवश्यक परेका ठाउँमा बाहेक अन्य ठाउँमा केबलकार बनाउन दिन नहुने बताइन् । उनले पाथीभरा केबलकार पनि बनाउन आवश्यक नरहेको उनको भनाइ छ ।

उनले भनिन्, ‘यो केबलकार निर्माणको कुरा छ । केबलकारको कुरा गर्दा सरकारलाई बनाउन मन लाग्यो भने पाथीभरामा निकुञ्जबाट नै छुट्टै राखेर त्यहाँ एउटा उद्योगपति, व्यापारीलाई सरकारले त्यहाँ बनाउनलाई दियो । जनताले नमान्दा नमान्दै । हामीले पनि धेरै कुरा बोल्यौँ तर सुनेन । सरकारले यस्तो गर्न सक्छ । तर यस्तो गर्दछ भनेर हामीले छोड्न सक्दैनौँ । वन्यजन्तु, स्थानीयलाई कुनै क्षति नहुने गरी दिनुपर्छ । पाथीभरामा दिन जरुरी छैन । मुक्तिनाथमा केबलकार पोखराबाट लैजाने भनेर पास गरिसके रे । त्यही टिमले । गाडी त्यहीँसम्म पुग्छ, केबलकारको आवश्यकता छैन ।’

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले आधारभूत विकासका आयोजनामा केबलकार नपर्ने बताइन् । उनले आधारभूत विकासका आयोजनाहरूमा खानेपानी, शिक्षा, स्वास्थ्य, प्रशरण लाइन लगायत मात्रै पर्ने बताइन् ।

उनले भनिन्, ‘आधारभूत विकासका आयोजनाहरूमा केबलकार पर्छ की पर्दैन ? खानेपानी, प्रशारण लाइन पर्दछ । सडक विकल्प विहीन अन्त कतैबाट जान मिलेन भने हो । केबलकार लेख्ने बित्तिकै कसरी आधारभूतमा आयो । शिक्षा, स्वास्थ्य, खानेपानी आधारभूतमा पर्छ होला ।’

समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल भएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =