जिम्मेवारीपूर्वक भूमिका निर्वाह नगर्दा कुलिङ पिरियडमा छेडखानी : छानबिन समिति

काठमाडौँ । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले मिहिन रुमपा दफावार छलफल नगर्दा र परिमार्जन गरिएको प्रतिवेदन सभामा पेश गर्नुअघि सभाका सदस्यहरूले अन्तिममा हेर्ने र छलफल नगर्दा कुलिङ अफ पिरियडमा छेडखानी भएको निष्कर्ष निकालेको छ ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा समितिको प्रतिवेदन बुझाउँदै समितिका संयोजक जीवन परियारले समितिको निष्कर्ष जानकारी गराएका हुन् ।
उनकाअनुसार मस्यौदा प्रतिवेदनसँग मूल विधेयक एकीकरण गरी मिलाउने प्रणाली नहुँदा यो समस्या आएको हो । विधेयक मस्यौदामा मिलाउने जिम्मेवारी भएको कार्यमा संलग्न पक्षहरूले आफ्नो दायित्व पूरा नगरेकाले कानुनी तादात्म्यता नमिलेको देखिएको बताए । विधेयकको दफा ८२ को उपदफा ४ र ५ बीच तादाम्यता नभएको विषय गम्भीर त्रुटि भएको देखिएकाले परिभाषित जिम्मेवारीमा रहेकाहरूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेको निष्कर्ष समितिको छ ।
विधेयकको दफा ८२ को उपदफा ४ र ५ का बीच कानुनी तादाम्यता सम्बन्धमा गम्भीर त्रुटि देखिँदा सम्बन्धित पदाधिकारी वा व्यक्तिलाई के कस्तो कारबाही गर्नुपर्छ भन्ने सन्दर्भमा राजनीतिक व्यक्तिलाई राजनीतिक र नैतिक जिम्मेवारी तथा कर्मचारीको कानुनी र पदीय जिम्मेवारी हुने हुँदा सोही बमोजिमको सुझाव एवं निष्कर्ष यस समितिको रहेको बताए ।
उनले भने ‘मिहिन रुम पा दफावार छलफल नगरिएको, परिमार्जन गरिएको प्रतिवेदन सभामा पेस गर्नुअघि सभाका माननीय सदस्यहरूले अन्तिममा हेर्ने र छलफल नगरिएको । मस्यौदा प्रतिवेदनसँग मूल विधेयक एकीकरण गरी मिलाउने प्रणाली नभएको । विधेयक मस्यौदामा मिलाउने जिम्मेवारी भएको कार्यमा संलग्न पक्षहरूले आफ्नो दायित्व पूरा नगरेकाले कानुनी तादात्म्यता नमिलेको देखियो । विधेयकको दफा ८२ को उपदफा ४ र ५ बीच तादाम्यता नभएको विषय गम्भीर त्रुटि भएको देखिएकाले परिभाषित जिम्मेवारीमा रहेकाहरूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेको भन्ने नदेखिएको । विधेयकको दफा ८२ को उपदफा ४ र ५ का बीच कानुनी तादाम्यता सम्बन्धमा गम्भीर त्रुटि देखिँदा सम्बन्धित पदाधिकारी वा व्यक्तिलाई के कस्तो कारबाही गर्नुपर्छ भन्ने सन्दर्भमा राजनीतिक व्यक्तिलाई राजनीतिक र नैतिक जिम्मेवारी तथा कर्मचारीको कानुनी र पदीय जिम्मेवारी हुने हुँदा सोही बमोजिमको सुझाव एवं निष्कर्ष यस समितिको रहेको छ ।’
छानबिन समितिले आगामी दिनमा यस्ता त्रुटि हुन नदिन मूल विधेयक र समितिको प्रतिवेदन एकीकृत रूपमा मिलाएर हेर्ने र अध्ययन गर्ने अभ्यास प्रारम्भ गर्न सुझाव दिएको छ ।








